प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिई कोस्टारिका प्रस्थान

title
आइतवार, अशोज १४, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सान होजेतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँका साथमा धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

ओलीले सान होजेमै शान्ति विश्वविद्यालय युनिभर्सिटी फर पिसलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।