प्रमोद र प्रियंकाको राजलिला छताछुल्ल !

title
सोमवार, साउन ७, २०७५

काठमाडौं । सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘कथा काठमाडौं’ पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ‘रातका कुरा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतले नै काठमाडौंको एक कथा लाई समेटको छ । चलचित्रको गीतको बोल झैं ‘रातका कुरा…’ अर्थात रातमा हुने विविध गतिविधिलाई देखाइएको छ । क्लब, डान्स बार तथा पबमा मदिरामा लट्ठ बनेका युवायवतीहरुबीच कथा काठमाडौंभित्र रातको कथा शुरु हुन्छ । जहाँ नायक प्रमोद अग्रहरि र नायिका प्रियंका कार्कीले राजलिला मच्चाएका छन् ।

झट्ट हेर्दा निर्माण पक्षले दर्शक बटुल्ने अस्त्र बनाएको देखिए पनि निर्माण पक्षले भने काठमाडौंको एउटा वास्तविकतालाई चलचित्रमा उतारेको दाबी गरेको छ । यो बोल्ड सिन परिवारका साथमा बसेर हेर्न दर्शकका लागि अपाच्य नै देखिन्छ । सायद सेन्सर बोर्डले पनि यसमा पक्कै कैची लगाउन सक्नेछ ।

त्यसो त निर्देशक संगीतका अनुसार ‘कथा काठमाडौं’ आम नेपालीको कथा हो । उनले भनिन् ‘यही काठमाडौंमा संघर्ष गर्नेहरुको कथा त भइहाल्यो, त्यो भन्दा पनि गाउँ घर देखि देश–विदेशमा बस्नेहरुको आफन्तहरु पनि काठमाडौंमा बस्ने भएको हुँदा उनीहरु पनि यस कथामा प्रत्यक्ष अप्रत्यक्ष जोडिन्छन् ।

लामो समयपछि दर्शकमाझ आउन लागेको कथा काठमाडौंले तीन फरक विषय वस्तुलाई उठान गरेको निर्देशक श्रेष्ठले बताइन् । एउटा संघर्षको पाटो गीत बाटै सार्वजनिक भएको र अन्य कथाहरुका लागि भने चलचित्र नै कुर्नुपर्ने बताइन् । टेलिसिरियल ‘कथा प्रेमका’ बाटै आफूलाई निर्देशनमा निखारेकी संगीता, सञ्चारकर्मीका साथै सर्ट मुखी निर्देशकका रुपमा समेत परिचित छिन् ।

काठमाडौंलाई आफ्नो कर्मभूमि बनाएका भिन्नभिन्न पात्रको कथालाई फिल्ममा चित्रण गर्न खोजिएको छ । असोज १२ मा रिलिज हुने यस फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरिको मुख्य भूमिका रहेको छ ।

आहाना फिल्मको ब्यानरमा विजय राइले निर्माण गरेको फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिँदै छिन् । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने मित्र गुरुङले सम्पादन गरिरहेका छन् । पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।