प्रवासमा मन जित्दै ‘पञ्चायत’

title
सोमवार, साउन २१, २०७५

काठमाडौं– चलचित्र विकास बोर्डबाट २०७४ सालमा प्रदर्शनमा आएका फिल्ममध्येबाट ‘विशेष फिल्म’ सहित नगद २ लाखबाट पुरस्कृत भएको फिल्म ‘पञ्चायत’ विदेशका विभिन्न देशहरुमा प्रदर्शन भइरहेको छ । चलचित्रको विदेश प्रदर्शनबाट आएको पैसा सामाजिक सेवाका लागि खर्चिने निर्माण पक्षले जनाएको छ ।

मकवानपुर जिल्लामा एम्बुलेन्स सेवा सुचारु गर्ने उद्देश्यले मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा चलचत्रि कतारमा प्रदर्शन भएको हो । चलचित्र गत शुक्रबार कतारमा प्रदर्शन भएको भयो, जहाँ दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कतारमा रहेका नेपाली दर्शकले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिए ।

यस प्रदर्शन बाट उठेको पैसा मकवानपुरमा एम्बुलेन्स सेवा सुचारु गर्न सहयोग गरिने चलचित्रका निर्माता सुसान्त कुमार श्रेष्ठले जानकारी दिए । ग्रान्ड मल सँगै रहेको एसियन टाउन सिनेमा हलमा शुक्रबार बेलुका ३ चलचित्रको प्रदर्शन गरिएको हो ।

चलचित्रलाई अब आउँदो अगस्ट १२ मा अस्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन गरिनेछ । अस्ट्रेलियाको प्रदर्शनबाट उठेको केहि पैसा सामाजिक कार्यमा लगाउने चलचित्रका प्रस्तुतकर्ता गणेश गिरी जानकारी दिए । अगष्ट १२ मा ६ बजे सिभिक थिएटर हस्र्टभिलीमा चलचित्रको प्रदर्शन हँुदैछ । पंचायतको अस्ट्रेलियामा प्रदर्शनको जिम्मा बिभुसन जोशी र दिनेश पोखरेलले लिएका छन् ।

त्यस्तै चेपाङ बालबालिकाहरुको सहयोगार्थ चलचित्रलाई युएईको विभिन्न सहरमा प्रदर्शन गराइने पनि जानकारी दिइएको छ । चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २० ,२१ र २२मा यूएईको अल एन, दुबई र आबुधाबीमा पंचायतको विशेष प्रदर्शन गरिने छ ।

यूएईको प्रदर्शनबाट उठेको पैसा चितवनमा रहेको चेपाङ बालबालिकाहरुलाई लागि कार्य गर्दै आएको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिने चितवन समाज युएईका महासचिब तथा संचारकर्मी रमेश क्षितिज बताए ।

नेपाल लगायत अमेरिका तथा जापानका विभिन्न ठाउँमा पञ्चायतलाई यसअघि नै प्रदर्शन गरिएको थियो । ‘पंचायत’लाई चलचित्र हेरेका दर्शक बाट निकै राम्रो तारिफ समेत मिलेको छ । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पंचायत’मा सरोज खनाल र नीता ढुङ्गाना मुख्य भूमिकामा छन् । चलचित्रमा खनाल, ढुंगानाका अलावा रुपा राना, जाहान्वी बस्नेत, गिता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ ।

गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।

चलचित्रले अमेरिकाको क्यालिफोर्निया राज्यको सन्फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा विदेशी भाषाको उत्कृष्ट चलचित्र विधाको अवार्ड जित्न सफल भएको थियो भने यही चलचित्रबाट नायिक निता ढुंगानाले उत्कृष्ट नायिकाको अवार्ड समेत हात पारेकी थिइन् ।

यसैबीच, सस्पेन्स थ्रिलर जनराको फिल्म ‘चिँ मुसी चिँ’ ले पनि विदेश प्रदर्शन थालनी गरेको छ । नेपालमा गएको हप्ताबाट यो फिल्म प्रदर्शनमा आएको थियो । फिल्मको पहिलो विदेश प्रदर्शन थाइल्याण्डको राजधानी बैंककबाट थालिएको छ । शनिबार बैंककमा रहेको ‘मेजर सिनेप्लेक्स’ मा भब्य प्रदर्शन भएको छ ।

फिल्मको थाइल्याण्डका विभिन्न शहरमा १२ भन्दा बढी शो हुने बताइएको छ । शनिवार नै थाइल्याण्डको पतैयामा पनि यस फिल्मको अर्को शो भब्य रुपमा सम्पन्न भएको हो ।

पछिल्लो समय नेपालमा राम्रै चलचित्र चलचित्रहरुले विदेशमा पनि राम्रै बजार पाउन थालेका छन् । चलचित्र निर्माताहरुको बजारको दायरा फराकिलो बन्दै गएसँगै उनीहरुको आम्दानीको स्रोत पनि बढेको छ भने अर्कोतिर नेपाली कला संस्कृति प्रचार प्रसारको माध्यम पनि चलचित्र बनेको छ ।

केही चलचित्रका निर्माता तथा निर्माण युनिटले चलचित्रलाई पहिले नेपालमा प्रदर्शन गरेपश्चान विशेष च्यारिटी तथा ‘विशेष शो’का लागि विदेश यात्रामा आफ्नो चलचित्र लैजाने गरेका छन् भने केही चलचित्रहरु पहिले विदेशमा विशेष च्यारिटी पश्चात नपालमा चलाइने गरेको पाइन्छ । यसरी नेपाली चलचित्र विदेमा चलाउनु आम नेपाली चलचित्र क्षेत्रकै लागि सुखद् पक्ष पनि हो ।