प्रविधिको अभावले भन्सार चेकजाँच अव्यवस्थित भएको महानिर्देशकको स्पष्टिकरण

title
शुक्रबार, माघ ११, २०७५

काठमाडौ । भन्सार विभागले प्रविधिको अभावमा भन्सार चेकजाँच व्यवस्थित बनाउन नसकिएको स्पष्टिकरण दिएको छ ।

मुलुकमा चोरी निकासीका सामानहरु भित्रिने क्रम बढेको गुनासो आईरहेका बेला भन्सार बिभागका महानिर्देशक तोयम रायाले प्रविधिको अभावमा भन्सार नाकाहरुमा चेकजाँचको कामलाई व्यवस्थित बनाउन नसकिएको स्पष्टिकरण दिनु भएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले खुला सीमाका कारण पनि नेपालमा भारतबाट चोरी निकासको सामान आउने गरेको पाइएपनि त्यसलाई नियन्त्रण गर्न आवश्यक पूर्वाधारकै अभाव रहेको पनि स्मरण गराउनु भयो । महानिर्देशक रायाले भन्सार नाकाहरुबाट हुने चोरी निकासी नियन्त्रणका लागि मालवाहक ट्रकहरु इन्ट्री गर्ने प्रणाली सुरु गरिएको पनि जानकारी दिनु भयो ।

वीरगंज भन्सारमा लागू गरिएको यो प्रणाली देशका सबै भन्सार नाकाहरुमा पनि लागू गर्ने महानिर्देशक रायाको योजना छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधारको अभावमा भन्सार नाकाहरुले काम गर्न नसकेको बताउनु भएको थियो ।

उहाँले नेपालको भन्सारको पूर्वाधार कमजोर भएको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो । महासंघले भन्सार नाकाहरुको पूर्वाधार राम्रो नभएका कारण व्यवसायीहरुले सामान आयात÷निर्यात गर्दा हैरानी व्यहोर्नु परेको गुनासो गर्दै आएको छ ।