प्रश्न सोध्न नदिएको भन्दै काँग्रेसद्वारा संसद बैठक बहिस्कार

title
बिहिबार, साउन १७, २०७५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद बैठक बहिस्कार गरेको छ । अाजको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै प्रश्नोत्तर गर्न काँग्रेस सांसदहरूले माग गरेका थिए । तर सभामुखले परराष्ट्रमन्त्री ज्ञवालीलाई समय उपलब्ध गराए ।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो विदेश भ्रमण बारेमा सदनलाई जानकारी गराएसँगै सभामुख कृष्णबहादुर महराले उठिरहेका कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरेका थिए । तर कांग्रेस सांसदहरुले अस्वीकार गरे।

काँग्रेस सांसदको विरोधका बाबजुत सभामुखले भने संसद बैठक अगाडि बढाइरहे । उनले प्रतिनिधिसभाको विषयगत समितिमा रहने सांसदहरुको नाम पढेर सुनाए। यतिबेला पनि कांग्रेस सांसदहरु भने आफ्नो स्थानबाट उठिरहेका थिए।

सभामुखले पुन बस्न आग्रह गर्दै अर्थमन्त्री युवराज खतिवडालाई विमा विधेयक पेश गर्न आग्रह गरे।

आफूहरुलाई समय नदिएको र एकोहोरो सदन सञ्चालन गरिरहेको भन्दै कांग्रेस सांसदहरु बैठक छाडेर बाहिरिए ।