प्रहरीसँगको झडपमा ज्यान गुमाएका सरोजनारायणका परिवारलाई १० लाख आर्थिक सहायता

title
बिहिबार, असार २६, २०७६

काठमाडौं । प्रहरीको गोली लागेर मारिएका सर्लाहीका सरोजनारायण सिंहको परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । सिंहको परिवारलाई राहतस्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

अघिल्लो शनिवार दिउँसो सर्लाही र महोत्तरीको सीमा बाँके खोलामा बालुवा गिट्टी निकाल्न क्रसर उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएको थियो । रायको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले अघिल्लो आइतवार सर्लाहीको बाँके जंगलस्थित पूर्व(पश्चिम राजमार्ग अवरुद्ध गर्न गएका थिए ।

अवरुद्ध राजमार्ग खोलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर सरोजनारायण सिंहको मृत्यु भएको थियो ।