प्रहरी दमनविरुद्ध कञ्चनपुरका विद्यालय बन्द

title
शुक्रबार, भदौ ८, २०७५

कञ्चनपुर – निर्मला पन्तको हत्या प्रकरणलाई लिएर भएको आन्दोलनले उग्र रुप लिएपछि विगत तीन दिनदेखि तनवाग्रस्त बनेको कञ्चनपुरको अवस्था सामान्य बन्दै गएको छ । स्थानीयको माग अनुसार सीडीयो र प्रहरी प्रमुखहरुको सरुवापछि महेन्द्रनगरको अवस्था केही सामान्य बनेको हो ।

तीन दिनदेखि ठप्प रहेको यातायात सेवा शुक्रबार बिहानैबाट संचालनमा आएका छन् भने पसलहरु पनि खुल्न थालेका छन् । तर, स्थानीय प्रशासनले भने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।

यता, प्रहरीको दमन विरुद्ध ऐक्यबद्धता जनाउदै एकदिनका लागि विद्यायल बन्द गरिएको छ । निर्मला पन्तको हत्या प्रकरणमा भैरहेको आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले बन्दको घोषणा गरेका हुन् ।

बिहीबार स्थानीयको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका थिए।