प्रियंका र आयुष्मानले गरे दोस्रो इन्गेजमेन्ट

title
सोमवार, साउन २८, २०७५

काठमाडौं । गएको महिना इन्गेजमेन्ट गरेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले फेरि औँठी साँटासाँट गरेका छन् । शनिवार काठमाडौंमा रहेको पाँचतारे होटल द्वारिकामा पारिवारिक समारोहका बीच दुवैले दोस्रो पटक एकअर्कालाई औँठी पहिराएका हुन् ।

लामो समयदेखि प्रेममा रहेका यी दुईको विवाहको मिति भने अझै तय भएको छैन । पुनः प्रियंका र आयुष्मानले औँठी साट्दा दुवैले विश्वास गर्ने सिमित चलचित्रकर्मीहरुको मात्र उपस्थिति थियो । रियल लभ कपललाई बधाई दिन दीपकराज गिरी, दीपाश्री निरौला, वर्षा राउत, संजोग कोइराला, स्वस्तिमा खड्का, निश्चल बस्नेतलगायत पुगेका थिए ।

प्राप्त जानकारी अनुसार, प्रियंका र आयुष्मानको विवाहको डेट अर्को वर्षलाई तय गर्ने तयारी चलिरहेको छ । दोस्रो पटक औँठी साँटासाँट गर्दैगर्दा मख्ख देखिएका आयुष्मान र प्रियंकाले एकै रंगको पहिरन लगाएका थिए । प्रियंकाले खरानी रंगको लेहगा लगाएकी थिइन् भने आयुष्मान सुटमा ठाँटिएका थिए । औँठी एकअर्कालाई लगाएपछि दुवैले प्रेमिल गीतमा नृत्य समेत गरेका थिए ।

त्यसो त चलचित्र ‘कथा काठमाण्डू’मा यो जोडीले सँगै काम समेत गरेका छन् । यही चलचित्रको सुटिङकै क्रममा यो जोडीले बढी नै नजिकिने मौका पाएको थियो । उमेरले प्रियंकाभन्दा आयुष्मान कान्छा हुन् । ‘चपली हाइट २’ का डेब्यु हिरो आयुष्मान यसअघि सोही फिल्मकी परमिता राज्यलक्ष्मी राणासँग नजिक थिए ।

यसैबीच, नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय रहेको गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द छ । गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स÷मास्टरिङ छ ।

डान्सिङ नम्बरको गीतमा आयुष्मान र प्रियंकाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ । गीतकार न्यौपानेले गीतमा मैच्याङ बनेकी प्रियंकालाई फकाउन आयुष्मानले गरेको आग्रहलाई समेटिएको बताए ।