फाइनल प्रवेशका लागि पारस र ज्ञानेन्द्रबीच प्रतिस्पर्धा

title
आइतवार, कार्तिक १८, २०७५

कास्की । पोखरा प्रिमियर लिग-पीपिएल क्रिकेटको फाइनल पुग्ने दोस्रो टोलीको टुंगो आईतबार लाग्दै छ। पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौँ रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ।

यसअघि लिग चरणमा शीर्षस्थानमा रहेबापत पोखरा पल्टन फाइनल पुगिसकेको छ। पोखरासँग समान अंक भएपनि नेट रनरेटमा पछाडि परेपछि काठमाडौँ र चितवन एलिमिनेटरमा प्रतिस्पर्धा गर्न लागेका हुन्। लिग चरणको शीर्ष टोली फाइनल पुग्ने तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच एलिमिनेटर हुने प्रतियोगिताको प्रावधान छ।

सुरुका दुई खेलमा पराजय ब्यहोरेको चितवन त्यसपछि लगातार तीन खेल जितेर शीर्ष तीनमा अँटाएको हो। लिग चरणको अन्तिम खेलमा शनिबार सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्समाथी चार विकेटको रोमान्चक जित हात पारेर दोस्रो चरणमा पुगेको हो।

अन्तिम दुई ओभरमा २६ रन आवश्यक रहेको अवस्थामा चितवनले १९ औँ ओभरमा सन्दीप लामिछानेबाट १८ रन जोडेको थियो। शनिबार नै भएको लिग चरणको खेलमा शरद भेषावकर कप्तानीको पोखरासँग पराजित भएपछि काठमाडौँले एलिमिनेटर खेल्नु पर्ने भएको हो।

यसअघि लिग चरणको प्रतिस्पर्धामा चितवनले काठमाडौँलाई पराजित गरेको थियो। त्यस खेलमा एक सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभर खेलेपनि एक सय ३६ रनमात्र जोडेको थियो। प्रतियोगितामा ६ टोली सहभागी छन्। विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउने छन्। फाइनल मंगलबार हुने छ।