फागुन १७ : वर्षा, विपिन र अनमोल

title
सोमवार, मंसिर १०, २०७५

काठमाडौं । दुई वर्ष अगाडिको हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ र अनमोल केसी स्टारर चलचित्र क्याप्टेन एकसाथ प्रदर्शनमा आउने भएका छन् । नेपालीहरुको महान पर्व शिवरात्रिलाई लक्षित गरी यी दुई चलचित्र प्रदर्शनमा ल्याउन लागिएको हो ।

त्यसो त अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’सँग जात्रै जात्रा भिड्ने पक्का भएपछि फागुन १७ को डेटलाई धेरैले चासोपूर्वक हेरेका छन् । दुवै चलचित्र दर्शकले प्रतिक्षा गरेका चलचित्र हुन् । यसरी सानो बजारमा बीग बजेटका चलचित्र जुधाइँदा निर्माण पक्षलाई मात्र नभएर चलचित्रका कलाकारहरुलाई पनि पक्कै राम्रो हुँदैन ।

चलचित्रले नाफा कमाउने त परको कुरा लगाउनी उठाउने वातावरण पनि नबन्ने स्थिति एकातिर आउँन सक्छ भने अर्कोतिर कलाकार तथा निर्माताहरुबीच नै मननमुटावको अवस्था समेत सिर्जना हुन्छ । तर, महाशिवरात्रीको विदामा फिल्म रिलिजका लागि उपयूक्त समय भएको र फेस्टिवलमा नेपाली बजारले दुई वटासम्म फिल्म सहजरुपमा धान्न सक्ने निर्माताको भनाई छ ।

यसबीच अभिनेता विपिन कार्कीको दुर्घटनामा दाहिने खुट्टा फ्याक्चर भएपछि फिल्म ‘जात्रै जात्रा’ पूर्वनिर्धारित मितिमा नआउने चर्चा थियो । प्रमुख अभिनेताको दुर्घटनापछि निर्माता मध्येका रविन्द्र सिंह बानियाँ फिल्मको रिलिज पोस्टपोन्ड गर्ने अन्तिम तयारीमा थिए । तर, चिकित्सकले तीन सातापछि सुटिङ ज्वाइन गर्न सक्ने सल्लाह दिएपछि अब फिल्म पूर्वनिर्धारित मितिमा नै प्रदर्शनमा आउने पक्का भएको छ । अहिले अभिनेता कार्की ‘बेड रेस्ट’ मा छन् ।

निर्माता बानियाँले विपिनको दुर्घटनापछि रिलिज पोस्टपोन्ड गर्ने सोच बनाएपनि अब फागुन १७ मै आउने जानकारी दिए । ‘एक–दुई दिनमा नै सुटिङ सुरु गर्दैछौं । तीन हप्ता अगाडिसम्म दयाहाङ राईलगायतका कलाकारको सिन सक्छौं । त्यसपछि विपिनको गर्ने तयारी छ’, उनले भने । अभिनेता विपिनको दुर्घटनापछि फिल्मको छायांकन प्रभावित भएको थियो । निर्माता बानियाँले क्लाइमेक्स फाइट भने तत्काल सुट नगर्ने बताए । भन्छन् ‘गाह्रो सिनहरु त लगभग सकिएको छ । क्लाइमेक्स फाइट पनि त्यस्तो हेवी त होइन तर त्यो तत्काल गर्दैनौं ।’ यसका निर्देशक प्रदीप भट्टराई हुन् ।

टिजर रिलिज गरेसँगै छायांकन आरम्भ भएको फिल्ममा निर्माता बनियाँको पनि प्रमुख भूमिका छ । फिल्ममा रविन्द्र, विपिन र दयाका अलावा रविन्द्र झा, बर्षा राउत लगायतका कलाकारहरुको अभिनय छ । निर्देशकले पहिलो भागको अन्त्यबाट फिल्म शुरु भए पनि ‘जात्रै जात्रा’ फरक कथामा बन्न लागेको बताएका छन् ।

त्यसो त चलचित्र क्याप्टेनको प्रदर्शन मिति यस अघि नै फागुन १७ गतेबाट प्रदर्शनमा आउने घोषणा गरिएको थियो । पटक–पटक विभिन्न मितिमा प्रदर्शन हुने चर्चा भएपनि चलचित्र अन्ततः महाशिवरात्रीको मोका पारेर रिलिज गरिने निर्माण पक्षले पक्का गरेको थियो । यो फिल्ममा अभिनेता अनमोलले फुटबल खेलाडीको भूमिका देखिँदैछन् । यस फिल्मका निर्देशक दीवाकर भट्टराई हुन् ।

फिल्ममा अनमोलको अपोटिजमा दुई नव अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । भुवन केसी निर्मित ‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारहरुको पनि अभिनय छ । एक यूवाको फुटबल संघर्षको कथामा चलचित्र बनेको छ ।