फिफा वरियतामा नेपाल यथास्थानमा

title
शुक्रबार, भदौ १, २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरियतामा नेपाल यथास्थानमा रहन सफल भएको छ । नेपाल यसअघिकै १६१ औं स्थानमा रहन सफल भएको हो ।

विश्वविजेता फ्रान्स ६ स्थानमाथि उक्लिँदै शीर्ष स्थानमा छ । रसियामा सम्पन्न विश्वकप फुटबलको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४—२ गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको उपाधि जितेको थियो । त्यस्तै, फिफा वरियतामा बेल्जियम एक स्थानमाथि उक्लिँदै दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा ब्राजिल, चौथोमा क्रोएसिया, पाँचौंमा उरुग्वे, छैटौंमा इंग्ल्यान्ड, सातौंमा पोर्चुगल रहेको छ भने आठौंमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र डेनमार्क रहेको छ भने ६ स्थान तल झर्दै अर्जेन्टना एघारौं स्थानमा रहेको छ ।

२१ औं विश्वकप फुटबलको आयोजक राष्ट्र रसियाले भने फिफा वरियतामा छलाङ मारेको छ । रसियाले सबैभन्दा धेरै २० स्थानमाथि उक्लिँदै ४९ औं स्थानमा पुगेको छ । रसिया विश्वकप शुरु हुँदा सबैभन्दा पुछारमा रहेको रसियाले विश्वकपमा सबैलाई चकित पार्दै क्वार्टरफाइनल सम्मको स्थान बनाएको थियो ।

त्यस्तै, फिफा वरियतामा दक्षिण एसियाका देशहरुमा शीर्ष स्थानमा भारत रहेको छ । भारत ९६ औं स्थानमा रहेको छ । त्यस्तै, १४५ औं स्थानमा अफगानिस्तान रहँदा १५० औं स्थानमा माल्दिभ्स रहेको छ भने नेपाल १६१ औं स्थानमा रहेको छ ।

त्यस्तै, भुटान १८३ औं स्थानमा, बंगलादेश १९४ औं स्थानमा, श्रीलंका २०० औंं स्थानमा र सबैभन्दा पुछारमा २०१ औं स्थानमा पाकिस्तान रहेको छ । फिफा वरियतामा यसअघिको पहिलो स्थानमा रहेको जर्मनी भने १४ स्थान तल झर्दै १५ औं स्थानमा रहेको छ । जर्मनी रसिया विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।