फुजेल प्रकरणमा चितवन अदालतको फैसलाः १२ जनाले पाए सफाई

title
आइतवार, भदौ २४, २०७५

कृष्ण अाचार्य । चितवन । पटक पटक सर्दै आएको गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धी मुद्दाको फैसला भएको छ ।

चितवन जिल्ला अदालतका मुख्य न्यायधिश कुलप्रसाद शर्माको इजलासले अधिकारी हत्या प्रकरणमा आज (आइतबार) फैसला सुनाएको हो । अदालतको फैशला अनुसार १३ जना प्रतिबादी मध्ये १२ जनाले सफाई पाएको अदालतका श्रेस्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए ।

सफाई पाउनेमा हाल काठमाडौं कारागारमा रहेका छविलाल पौडेल सहित राम प्रसाद अधिकारी क र ख,काली प्रसाद अधिकारी, सिता तिवारी, सुभद्रा तिवारी, विष्णु तिवारी लगाएत रहेको उनले बताए । यस्तै फरार सूचिमा रहेका प्रतिवादी रुद्र आचार्यको हकमा पछि फैशला गरिने अदालतले जनाएको छ ।

गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला २०६१ जेठ २४ मा हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो । तर कृष्णका दाजु र बाबुले हत्याका बिरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरी बिरुद्ध कुनै कारवाही भएको थिएन । कृष्णका बाबुआमाले अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो । प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो । कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना बिरुद्ध मुद्दा दायर भएको थियो ।

कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना बिरुद्ध मुद्दा दायर भएको थियो । छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भएको छ ।

आमा गंगामाया पनि लामो समय अनशन बसिन् । अनशनका क्रममा निधन भएका कृष्णका नन्दप्रसादको अझै दाहसंस्कार भएको छैन । सशस्त्र संघर्षका बेलामा भएको घटनाका विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगले निर्णय गर्नुपर्नेमा अदालतमा मुद्दा लगेको भन्दै माओवादी पक्षले आपत्ति जनाउँदै आएको छ ।