फुटबलको प्रशिक्षकमा बालगोपाल महर्जन

title
बिहिबार, भदौ ७, २०७५

काठमाडौं । नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको बैठकले राष्ट्रिय फुटबल टोलीको कार्यबाहक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा भवनमा बसेको बैठकले महर्जनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो ।

राष्ट्रिय टिमका प्रशिक्षक ग्योतोकु कोजीलाई नेपाल फर्कन भिषा समस्या भएपछि उनी अब इन्डोनेसियाबाट नेपाल आउन नसक्ने भएका हुन् । सेप्टेम्बर ४ देखि बंगलादेशमा साफ सुजुकी कपमा सहभागिता जनाउनुपर्ने र उक्त टुनामेन्टका लागि टिम तयार पार्नुपर्ने भएकाले महर्जनलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।

केही समय अगाडि महर्जनलाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरिएको थियो । कोजीलाई अध्यागमन विभागले एक बर्षसम्म नेपाल छिर्न नपाउने गरि प्रतिबन्ध लगाएपछि एन्फाले साफ फुटबललाई केन्द्रीत गरि महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । कोजी विसं २०७२ सालमा फागुनमा नेपाल आएका थिए ।

हालै इन्डोनेसियामा जारी फुटबलको समूह चरणबाटै बाहिरिएको यू २३ टोली सोमबार राती स्वदेश फर्कदा कोजी साथमा फर्केनन् । नेपालको भीषा नभएका कारण उनी नआएका हुन् । इन्डोनेसिया जानुअघि नै उनको भिसा भएको अवधिभन्दा उन बढी नेपाल बसेका थिए । त्यसमा एन्फाले जरिवाना तिरेको थियो । कोजी इन्डोनेसियाबाट थाइल्यान्ड गएका हुन् ।

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले बुधबारबाट प्रशिक्षण थालिसकेको छ । एसियाडमा सबै तीन खेल गुमाउँदै नेपाली युवा टोली स्वदेश फर्केको थियो । इन्डोनेसिया जानुअघि टोलीले थाइल्यान्डमा दुई अभ्यास खेल खेलेको थियो । जसमा सिनियर टोलीका केही खेलाडी सामेल थियो । एन्फाले साफ च्याम्पियनसिपका लागि अन्तिम नामावली सार्वजनिक गर्न बाँकी रहेको छ ।