फुटबल टोली आज बंगलादेश जाँदै

title
आइतवार, अशोज १४, २०७५

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशमा हुन लागेको बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गर्दैछ ।  नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघले बिदाई गर्दैछ । अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये २५ हजार डलर मात्रै पाएपछि नेपालले पुरा रकम नआउँदा सम्म भाग नलिने अडान लिएको थियो ।

तर, अन्तिम समयमा पूरा रकम पाएपछि एन्फाले ढिला गरी बंगबन्धु गोल्डकप खेल्ने निश्चित गरेको थियो । बंगबन्धुमा सहभागिता जनाउने भएसँगै झन्डै पाँच वर्षपछि शुरु भएको शहिद स्मारक ‘ए’ डिभिजन लिग प्रभावित हुने भएको छ ।
नेपालले बंगबन्धु गोल्डकपको लागि अघिल्लो साताबाटै प्रशिक्षण शुरु गरेको थियो । डिफेन्डिङ च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपको समूह ‘ए’ मा रहेको छ । नेपालले प्यालेस्टाइन र ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसँग अक्टोबर ६ मा खेल्नेछ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । गोल्डकप असोज १५ देखि २६ गतेसम्म ढाका, सिलेट र कक्स बजारमा हुदैछ ।

एन्फाले गत सोमबार मात्रै बंगबन्धु गोल्डकपका लागि २० सदस्यीय टोलीको घोषणा गरेको थियो । बंगलादेशमै भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको नेपाली टोलीमा यसपटक २ खेलाडी मात्र परिवर्तन भएका छन् । व्यवसायिक फुटबलका लागि नेपाली टोलीका पहिलो रोजाईका गोलकिपर माल्दिभ्स र मिडफिल्डर रोहित चन्द इन्डोनेसिया रहेका कारण उनीहरुको ठाँउमा गोलकिपर विशाल श्रेष्ठ र रक्षक तेज तामाङलाई टोलीमा समेटिएको छ ।