फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडौं। सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी थालेको छ । यसअघि गत साल १९ देखि २० फागुन २०७३ मा पहिलोपटक लगानी सम्मेलन गरिएको थियो । अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको हो ।

सम्मेलन आउने मार्चको अन्तिम साता गर्ने तयारी भइरहेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न लगानीकर्तालाई नेपालमा लगानीको वातावरण राम्रो छ भन्ने अनुभूति दिलाउन पुनः दोस्रो सम्मेलनको आयोजना गर्न लागेका हौं ।’

उनले सम्मेलनमा केही परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना बनाइएको जानकारी दिए । उनले अगाडि भने, ‘सम्मेलन गर्ना साथ लगानी आउँछ भन्ने होइन । त्यसका लागि लगानीकर्ताले लगानी गर्ने क्षेत्रको लामो अध्ययन गरेर मात्र लगानी गर्ने गर्दछ ।’ अहिले विभिन्न देशका लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाइरहेका छन् । उनले विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाउनु राम्रो भएको जनाए ।

उनले भने, ‘ठूला आयोजनाहरू भनेका एक÷दुई वर्षभित्रै आइहाल्छन् भन्ने हुँदैन । यसका लागि ६÷७ वर्ष पनि लाग्न सक्छ ।’ चार÷पाँच महिना वा एक वर्षको तथ्यांक हेरेर विदेशी लगानी घटे÷बढेको भन्न नमिल्ले उनले बताए । अहिले नयाँ संरचानामा सरकार गएको हुँदा विभिन्न नियम कानुन बनिरहेका छन् । सबै नीति नियम, ऐन कानुन बनिसकेपछि विदेशी लगानी भित्र्याउन सहज हुने उनको भनाइ छ । आजको राजधानी दैनिकबाट ।