फेसबुक र ट्वीटरमा बिज्ञापन गरे कर तिर्नुपर्ने

title
सोमवार, भदौ ४, २०७५

काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत आर्थिक कारोबार भइरहेको भन्दै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमवार बसेको समिति बैठकले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा विज्ञापन गरे बापत ठूलो रकम बाहिरिएको देखिएको भन्दै त्यसलाई नियमन गरी करको दायरामा ल्याउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, तथा अर्थ मन्त्रालयलाई निर्देशन गरेको हो ।

त्यस्तै बैठकले अन्य देशका टेलिकमले उपलब्ध गराएको स्पेस, रोयल्टीसम्बन्धी समस्या समाधानका विषयमा समितिलाई जानकारी गराउन सूचना तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ । बैठकले दुरसञ्चार विकास कोषको उपलब्धि, ‘फोर जी’ बारेको उपलब्धि, विधुतीय कारोबार ऐनको कार्यन्वयन, बक्स अफिसको अवस्थाबारे जानकारी गराउन सञ्चार मन्त्रालयलाई समितिले निर्देशन दिएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिनु भयो ।

बैठकमा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रालयको योजना र विवरणहरु प्रस्तुत गर्दै नेपाल टेलिकममा नयाँ साझेदार ल्याउन लागिएको बताउनुभयो । त्यस्तै मन्त्री बास्कोटाले सञ्चार क्षेत्रलाई नियमन गर्न साइबर कानून बनी रहेको जानकारी दिनुभयो ।

समितिका सदस्यहरुले टेलिकमको सेवाको गुणस्तर बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।