बंगबन्धु आयोजकलाई एन्फाको अल्टिमेटम, नेपालले खेल्ने नखेल्ने अझै अन्योल

title
सोमवार, अशोज १, २०७५

काठमाडौं– नेपालले यो पटकको बंगबन्धु गोल्डकप प्रतियोगिता खेल्ने सम्भावना न्यून बन्दै गएको छ । पुरस्कारबापतको रकम नपाए अखिल नेपाल फुटबल संघ एन्फाले साविक विजेता नेपाली टोलीलाई बंगबन्धु गोल्डकप फुटबलका लागि नपठाउने जनाएको छ ।

बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ । तर प्रतियोगिता आउन दुई सातामात्रै बाँकी हुँदा पनि नेपालको सहभागिता हुने–नहुने टुंगो अझै लागिसकेको छैन । यही बीचमा एन्फाले बंगबन्धु गोल्डकपको उपाधि जितेको पुरस्कार रकम उपलब्ध गराउन आयोजकलाई १२ दिने अल्टिमेटम दिएको छ ।

२२ जनवरी २०१६ मा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै नेपालले बंगबन्धु कप जितेको थियो । तर, उपाधि जितेको २ वर्षभन्दा बढी भइसक्दा पनि पुरस्कार रकम पाएको छैन ।

५० हजार अमेरिकी डलरमध्ये २५ हजार मात्र पाएको छ । बाँकी रकम सेप्टेम्बर २८ तारिखभित्र उपलब्ध नगराए आगामी प्रतियोगिता नेपालले खेल्ने छैन । एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘उहाँहरुले पैसा तयारी छ त भन्नु भएको छ । हामीले त्यो पैसा पठाइ दिन अनुरोध गरेका छौं । पैसा प्राप्त नभए नेपालको सहभागिता हुनेछैन ।’

साविक विजेता समेत नेपाल समूह ‘ए’मा प्यालेस्टाइन र ताजकिस्तानसँग रहेको छ । अर्को समूहमा आयोजक बंगलादेश, फिलिपिन्स र लाओस रहेका छन् । बंगबन्धु गोल्डकप असोज १४ देखि २६ गतेका लागि तय भएको छ ।