बंगबन्धु गोल्डकपः नेपालले ताजकिस्तानको सामना गर्दै

title
मङ्लबार, अशोज १६, २०७५

काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु गोल्डकप प्रतियोगिता अन्तर्गत आज नेपालले ताजकिस्तानको सामना गर्दैछ । सोमबारबाट शुरु भएको बंगबन्धु गोल्डकपको दोस्रो दिन आज नेपालले ताजकिस्तानको सामना गर्न लागेको हो ।

नेपाल र ताजकिस्तानबीचको खेल साँझ सवा ६ बजे शुरु हुनेछ । ताजकिस्तानविरुद्ध मैदान उत्रदा साविकको विजेता नेपाल आफ्नो साख जोगाउने लक्ष्यमा हुनेछ ।

फिफा वरीयतामा निकै माथि रहेको ताजिकिस्तानविरुद्ध नेपाललाई जीत निकाल्न चुनौती छ । फिफा वरीयतामा नेपाल १६० औं स्थानमा छ भने ताजकिस्तान १२० औं स्थानमा छ । नेपाल गत वर्षको च्याम्पियन टोली हो । नेपाली टोली उपाधि जित्ने लक्ष्य सहित आइतबार बंगलादेश प्रस्थान गरेको थियो ।

सन् २०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणमा नेपालले बहराइनको यू–२३ टोलीलाई हराएर उपाधि जितेको थियो ।

ताजिकिस्तानबिरुद्धको खेलअघि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम समयमा सहभागिता निश्चित भएपछि छोटो तयारीका बाबजुद सहभागिता जनाएको बताए । ‘अन्तिम समयमा सहभागिता निश्चित भयो, त्यसैले ४–५ दिनको मात्र तयारी गर्न भ्यायौं ।’

उनले एशियाकै बलियो टोलीसँगको प्रतिस्पर्धा कठिन हुने बताए । ‘ताजिकिस्तानसँग एएफसी एसियन कपको छनोट चरणमा खेलेको अनुभव छ । त्यस खेलको विश्लेषण गरेर हामी सचेत भइ खेल्छौं ।’ प्रशिक्षक महर्जनले थपे, ‘उनीहरु हामीभन्दा शारीरिक, मानसिक र प्राविधिक रुपमा बलियो भए पनि हामीले राम्रो रणनीति अनुसार धैर्यता अपनाएको खण्डमा रिजल्ट कुनै पनि बेला हाम्रो पक्षमा आउन सक्छ ।’

बंगबन्धु गोल्डकप
समूह एः नेपाल, ताजिकिस्तान, प्यालेस्टाइन

नेपाल भर्सेस ताजिकिस्तान
मितिः असोज १६ गते
स्थानः सिलेट डिस्ट्रिक रंगशाला
समयः नेपाली समयअनुसार साँझ सवा ६ बजे

नेपाल भर्सेस प्यालेस्टाइन
मितिः असोज २० गते
स्थानः सिलेट डिस्ट्रिक रंगशाला
समयः नेपाली समयअनुसार साँझ सवा ६ बजे