‘बकम्फुसे राजा’की रानी वर्षा !

title
सोमवार, साउन २१, २०७५

काठमाडौं । पछिल्लो समय चलेकी नायिका वर्षा राउत एक पछि अर्को गर्दै विभिन्न फिल्ममा अनुबन्धित भइरहेकी छिन् । उनको अभिनय रहेका प्रायः चलचित्रले सफलता हात पारेसँगै उनी निकै व्यस्त बनेकी छिन् ।

केही दिन अघि नयाँ चलचित्र गोपीमा अनुबन्धित भएकी वर्षाले अहिले नयाँ चलचित्र ‘बकम्फुसे राजा’मा रोल निभाउन राजी भएकी हुन् । सञ्चारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको चलचित्र सुवेदी फिल्मसको ब्यानरमा बन्ने भएको हो । कमेडी जनराको यस फिल्ममा गणेश सुवेदीको लगानी रहनेछ ।

फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भर्ने जिम्मेवारी पाएका छन् भने विष्णु कल्पित छायाँकारमा अनुबन्ध भएका छन् । सुनिल श्रेष्ठको स्क्रिप्ट रहेको फिल्मका प्रमुख कलाकारको भने घोषणा गरिएको छैन ।

‘बकम्फुसे राजा’ मा अभिनेत्री वर्षा राउत लिड रोलमा हुनेछिन् । फिल्मको औपचारिक घोषणामा भने उनी उपस्थिति भएकी थिइनन् । निर्देशक बन्न लागेका सुवेदीले केही दिनमा कलाकारको विषयमा जानकारी दिने बताए ।

‘हर्के हवाल्दार’ र ‘रिसानी माफ पाउँ’ जस्ता हाँस्य टेलिसिरियल निर्देशन गरिसकेका उनले सञ्चालन गर्ने फिल्म सम्बन्धी कार्यक्रम ‘रजतपट’ एक समय निकै हिट थियो ।