बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, कात्यायनी देवीकोे पूजाआजा गरिंदै

title
सोमवार, अशोज २९, २०७५

काठमाडौं । बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज, नवदुर्गाका ९ रुपहरु मध्येको एक कात्यायनी देवीकोे पूजाआजा गरिंदैछ ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धामिर्क प्रचलन छ । आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो ।

दानवमाथि देवीले विजय प्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वदन्ती छ । कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

हिन्दु धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

आजपनि देशभरका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।