बढ्दो शहरीकरण,अस्वस्थ जीवन शैलीले मुटु तथा रक्तनलीजन्य रोगको जोखिम बढ्दो

title
शनिबार, अशोज १३, २०७५

काठमाडौं । विश्व मुटु दिवस विभिन्न नेपालमा पनि शनिवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विश्व मुटु महासंघको आह्वानमा सन् २००० देखि सेप्टेम्बरको अन्तिम शनिवार यो दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष मुटु तथा रक्तनलीजन्य रोगका कारण एक करोड ७५ लाख मानिसको ज्यान जाने गरेको छ । अन्य नसर्ने रोग जस्तै क्यान्सर, दम, मधुमेह जस्ता कारणले भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी रहेको संगठनले जनाएको छ ।

मुटुजन्य रोगका विरामीको संख्या बढ्दै गएमा सन् २०३० सम्म यो रोगबाट मृत्यु हुनेको संख्या दुई करोड भन्दा माथि पुग्ने अनुमान गरिएको छ । सूर्तिजन्य पदार्थको बढ्दो सेवन, अस्वस्थ खानपान, शारिरीक परिश्रमको कमी, मोटोपना, उच्चरक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मानसिक तनाव जस्ता समस्याले मुटुमा समस्या देखिने गरेको छ ।

विश्व मुटु दिवसका अवसरमा काठमाडौ उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालले चेतनामुलक कार्यक्रम गरेका छन् । कार्यक्रममा चिकित्सकहरुले नेपालमा मुटु रोगका बिरामीको संख्या बढ्दै गएको भन्दै सरोकारवाला सबैले आपसमा सहकार्य गरेर समस्या बिरुद्ध लड्नुपर्ने बताए ।

काठमाडौंमै भएको मुटु रोगसम्वन्धी कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको नारा संगै सहज मानव जीवनको बिषयमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

बढ्दो शहरीकरण साथै अस्वस्थ जीवन शैलीका कारण नेपालमा मुटु तथा रक्तनलीजन्य रोगको जोखिम बढेको र ४० वर्ष उमेर समुह कै युवापुस्तामा हृदयाघातको जोखिम देखिएको विश्व मुटु संगठनले जनाएको छ ।