बन्ने भो ‘परदेशी २’, दोहोरिएलान प्रशान्त तामाङ

title
मङ्लबार, माघ १, २०७५

काठमाडौं– तीन वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘परदेशी’को सिक्वेल निर्माणको घोषणा भएको छ । नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परदेशी’ले दर्शकको निकै राम्रो प्रतिकृया प्राप्त गरेको थियो । फलस्वरुप चलचित्र बक्सअफिसमा सुपरहिट सावित भयो । चलचित्रले बक्सअफिसमा ७ करोड आसपासको ब्यापार गर्न सफल भएको थियो ।

सोही सुपरहिट चलचित्रको पार्ट टु बन्ने पक्का भएको हो । चलचित्रका निर्देशक रायमाझीका अनुसार अहिले चलचित्रको स्क्रिप्टको काम भइरहेको छ । उनका अनुसार परदेशीमा जस्तै यो चलचित्रमा पनि वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक समस्याकै कथावस्तु रहने छ । फाल्गुनबाट फ्लोरमा जाने भनिएको चलचित्रको कलाकारहरु भने अहिले फाइनल भएका छैनन् । निर्देशक रायमाझीले छिट्टै कास्टिङ लाईनअप फाइनल हुने बताएका छन् । चलचित्रमा ‘परदेशी’ कै नायक तथा इन्डियन आईडल बिजेता प्रशान्त तामाङ नै दोहोरिने सम्भावना रहेको छ । निर्देशक रायमाझीले पनि प्रशान्तसँग कुरा गरिरहेको बुझिएको छ ।

रायमाझीले यस अघि आफ्नो दुई चलचित्रमा प्रशान्तलाई नै नायकको रुपमा लिएर काम गरेका थिए । उनले ‘गोर्खा पल्टन’ र ‘परदेशी’ मा प्रशान्तलाई नै लिएका थिए । ती दुबै चलचित्र सुपरहिट भएका चलचित्र हुन् । यसर्थ अब बन्ने ‘परदेशी’ को सिक्वेलमा पनि प्रशान्तकै मुख्य अभिनय रहने सम्भावना बढी रहेको छ । चलचित्र अर्को बर्षको दसैंमा प्रदर्शन गराउने निर्माण टिमको योजना रहेको छ ।

बेरोजगारीका कारण विदेशमा युवा पलायन भएको वर्तमान अवस्थामा नेपालीहरुले विदेशमा गएर कस्तो दुःख कष्ट व्यहोर्नुपर्छ भन्ने विषयवस्तुमा चलचित्र परदेशी निर्माण भएको थियो । चलचित्रको कथावस्तु निकै उत्कृष्ट रहनुका साथै चलचित्रका गीतले समेत आम दर्शक तथा स्रोताको मन जित्न सफल भएको थियो । नयाँ चलचित्रको कथावस्तु पनि निकै नै उत्कृष्ट रहेको र सांगीतिक पक्ष पनि उत्कृष्ट रहने निर्देशक रायमाझीले बताए ।