बसुन्धरा र भुवन सम्मानित हुँदै

title
आइतवार, भदौ ३१, २०७५

काठमाडौं । जापानको टोकियोमा आइतबार सम्पन्न हुन लागेको ‘सूर्य इन्टरनेशनल अवार्ड–२०१८’ मा नेपाली फिल्म क्षेत्रमा दुई हस्ती बसुन्धरा भुषाल र भुवन केसी सम्मानित हुने भएका छन् ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा पु¥याएको अतुलनीय योगदाको कदर गर्दै यी दुई कलाकारलाई सम्मान गर्न लागिएको आयोजक संस्था सूर्य कर्पोरेशन ले जनाएको छ ।

कार्यक्रममा दुई जना पत्रकार पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उक्त अवार्ड समारोहमा ३ दशक भन्दा पनि बढि समय फिल्म क्षेत्रमा निरन्तर क्रियाशील बरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मान गर्न लागिएको हो भने तीन दशकदेखि लगातार फिल्म क्षेत्रमा क्रियाशील रहँदै आएका सदावहार नायक भुवन केसीलाई ‘सूर्य कलाकारिता सम्मान–२०१८’ बाट सम्मान गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताए ।

यसैगरी कार्यक्रममा ‘सूर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८’ बाट दुई चलचित्र पत्रकार पुरस्कृत हुने भएका छन् । सुर्य चलचित्र पत्रकारिता पुरस्कारबाट समिप्य राज तिमल्सेना र फोटो पत्रकारिता पुरस्कारबाट श्रीधर पौडेललाई पुरस्कृत गर्न लागिएको अवार्डका नेपाल संयोजक समिर बलामीले जानकारी दिए ।

सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियोमा अवस्थित नाकानो जेरो हलमा हुँदैछ । समारोहमा फिल्मको ६ विधा र गायनका ६ विधा गरि १२ विधामा अवार्ड वितरण गरिनेछ । त्यसो त नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय अवार्डको बाढी नै आएको छ । एक अर्थमा यसलाई सकारात्मक मानिए पनि अर्को अर्थमा यसले नकारात्मक पाटोलाई निम्त्याएको छ । अवार्डका नाममा हुने विकृति र विसंगतिले अवार्डलाई बद्नामित गराउने काम एकातिर भएको छ भने अर्कोतिर अवार्डका लागि भनेर विदेशिएका कलाकार विदेशमै भाग्ने प्रवृत्तिका कारण पनि यो अझ बढी आलोचित बनेको हो ।

तर, आयोजक संस्था सूर्य इन्टरनेशनल अवार्डका आयोजक अध्यक्ष लामिछनेले विदेशी भूमिमा अवार्ड आयोजना गरिनु नेपाली चलचित्रको बजार विस्तारसँग नेपाली कला संस्कृतिको पहिचान विदेशीसामु गराउनु रहेको बताए । उनले स्वच्छ, निश्पक्ष रुपमा अवार्ड प्रदान गरिने र कलाकारको कलाको सम्मान नै अवार्डको सम्मान भएको बताए ।

उनले भने– ‘पछिल्लो समय अवार्डका देखिएको विकृतिको म पनि विरोध गर्छु, यदी हाम्रो अवार्डमा त्यस्तो अवस्था आयो भने म कारबाही भोग्न पनि तयार छु ।’ अवार्ड कार्यक्रममा कलाकारहरुले नेपाली गीत गाउनुका साथै दर्शकमाझ सांस्कृतिक प्रस्तुति पस्किने बताए । अवार्डका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै जापानमा रहेका नेपालीहरुलाई अवार्डका सहभागी हुनुका साथै अवार्डलाई सभ्य र भव्य बनाउन सवैको साथ र सहयोग रहेको अपेक्षा राखे ।