बाँकेमा संघीय सरकारको तीन अर्ब बजेट

title
आइतवार, जेष्ठ २६, २०७६

बाँके- संघीय सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा बाँकेका आठ स्थानीय तहका लागि दुई अर्ब ९० करोड ११ लाख विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको हो ।

संघीय सरकारले बाँकेका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट नेपालगञ्ज उपमहानगरपालिकालाई विनियोजन गरेको छ । उपमहानगरपालिकाले ६९ करोड ५६ लाख संघीय सरकारबाट पाउने छ । जसमध्ये वित्तीय समानीकरणतर्फ ३१ करोड ४८ लाख र सःशर्त अनुदानतर्फ ३८ करोड आठ लाख रहेको छ ।

कोहलपुर उपमहानगरपालिकाका लागि सरकारले आगामी आवका लागि ४१ करोड ३७ लाख बजेट विनियोजन गरेको छ । कोहलपुरले वित्तीय समानीकरणतर्फ १९ करोड १५ लाख र सःशर्त अनुदानतर्फ २२ करोड २२ लाख प्राप्त गर्नेछ । बाँकेमा रहेको उपमहानगरपालिका र नगरपालिकाका लागि गरिएको बजेट विनियोजन गाउँपालिकाको भन्दा बढी छ ।

गाउँपालिकामध्ये खजुरा गाउँपालिकाका लागि सरकारले सबैभन्दा बढी रकम विनियोजन गरेको छ । खजुरा गाउँपालिकाले आगामी आवमा ३८ करोड ८२ लाख संघीय सरकारबाट प्राप्त गर्नेछ । जसमा वित्तीय समानीकरणतर्फ १५ करोड तीन लाख र सःशर्त अनुदानतर्फ २३ करोड ७९ लाख छ।