बाजुरा जिल्ला अध्यक्षको म्याराथनमा नेकपाका चार नेता

title
आइतवार, भदौ ३, २०७५

प्रेम वि.क/बाजुरा

जिल्ला संगठन समायोजन गर्न नेकपा केन्द्रीय कमिटिले तोकेको समय सिमा सकिन लाग्दा जिल्लाको अध्यक्षमा चार जना नेताको नाम सिफारिस भएका छ । नेकपा केन्द्रीय सदस्य, प्रतिनिधि सदस्य लालबहादुर थापाले बाजुरा जिल्लाका चार जना नेताको नाम सिफारिस गरिएको बताए ।

थापाले को को सिफारिस भए नाम भने भन्न चाहेनन् । उनले भने ‘चार जनाको नाम सिफरिस भएको छ, को को नेता परे भन्ने कुरा पछि थाहा पाँउनु हुन्छ हतार नगर्नुस् ।’ बाजुरा जिल्लामा अध्यक्ष तत्कालिन एमालेको भागमा परेपछि एमालेका दर्जनौँ युवा नेताहरु अध्यक्ष पदका लागि आ–आफ्नो लविङ्गमा रहेका छन् । अध्यक्षको दावेदार भनिएका केही नेताहरु भने सिफरिसमा नपरेरै चिप्लिएका छन् ।

यता तत्कालीन माओवादी केन्द्रका सचिव पदमा नेता महेश शाही र भरत बुढाको नाम चर्चा रहेको छ । तर भरत बुढाको सम्भावना बलियो रहेको बुझिएको छ । चर्चा रहेअनुसार भरत थापा, जनक बोहोरा, लालबहादुर ओली गरी तीन जनाको नाम सिफारिस भएको जिल्ला एमाले वृत्तमा हल्ला चलेको छ ।

यता अध्यक्षका बलिया दावेदार रहेका तत्कालीन एमाले उपसचिव गगन रावल सिफारिसमा नपरेको भनिए पनि बाजुरा जिल्ला इन्चार्ज समेत रहेका प्रतिनिधि सभा सदस्य थापाले चार जनाको नाम सिफरिस भएको बताएपछि सम्भवतः यी चारैजना अध्यक्षकाे म्याराथनमा रहेकाे स्पष्ट भएकाे हाे ।

सम्भवतः नेता गगन रावल, भरत थापा, जनक बोहोरा र लालबहादुर ओली चार जनामा परेको अनुमान गर्न सकिन्छ । जिल्लाको राजनीतिक अवस्थालाई विश्लेषण गर्दा नेता गगन रावल बरीयतामा अगाडि  छन् । रावल स्थानीय निर्वाचनमा एमालेका तर्फबाट बडीमालिका नगरपालिकाको मेयरको चुनाव लडेर पराजित भएका थिए ।

अर्का नेता भरत थापा तत्कालीन एमालेमा लामो समय सक्रिय राजनीतिमा लागेका युवा नेता हुन् । युवा संघ पूर्व जिल्ला अध्यक्ष समेत रहेका नेता थापा एमालेको राजनीतिमा अरु तीन जना भन्दा अगाडि प्रवेश गरेका नेताको रुपमा चिनिन्छन् । उनले जनआन्दोलन २०६२÷०६३ मा बाजुरा जिल्लामा एमालेको तर्फबाट नेतृत्वदायी भुमिका खेलेका थिए ।

पछिल्लो पुस्ताका युवा नेताहरुमा जनक बोहाराको पहिचान अलि फरक छ । अनेरास्ववियूबाट एमालेको राजनीतिमा प्रवेश गरेका नेता बोहोरा भद्र तथा बौँद्धिक नेताको रुपमा परिचित छन् । एमालेमा रहँदा उनले संगठन विभागको नेतृत्व गरेका थिए । स्थानीय निर्वाचनमा एमालेका तर्फबाट बुढिनन्दा नगरपालिकाको मेयरको चुनाव प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए ।

यता सामाजिका अभियान्ताको पृष्ठभुमिबाट एमालेको सक्रिय राजनीतिमा आएका लालबहादुर ओली अनुशासित र मेहनती पाका नेताको रुपमा परिचित छन । एमाले जिल्ला कमिटिमा रहँदा उनले आर्थिक विभाग समेत सम्हालेका थिए । स्थानीय निर्वाचनमा एमालेका तर्फबाट खप्तड छेडेदह गाउपालिकाको अध्यक्षमा चुनाव लडेर उनी पनि पराजित भएका थिए । यी चारै जना नेताको आ–आफ्नै उच्च छवी छ । तर, स्थानीय तहको निर्वाचनमा युवा नेता भरत थापा बाहेकले चुनावी नतिजा आफ्नो हात पार्न असफल रहेका थिए ।