बारा पर्सामा आएको हावाहुरीको नाम ‘टोर्नाडो’ भएको मौसम विभागद्वारा पुष्टि

title
बुधबार, चैत्र २७, २०७५

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको ‘टोर्नाडो’ले बारा–पर्सामा ठूलो धनजनको क्षति गराएको जल तथा मौसम विज्ञान विभागले पुष्टि गरेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गत चैत्र १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको विनाशकारी हावाहुरी ‘टोर्नाडो’ ले बारा–पर्सामा ठूलो धनजनको क्षति पुगेको पुष्टि भएको जानकारी गराएको हो ।

विभागले सो विनाशकारी हावाहुरी ‘टोर्नाडो’ हो भन्ने अनुमान गरेपछि पुष्टि गर्न चैत्र २० गतेदेखि २४ गतेसम्म वैज्ञानिकहरुको एक टोली स्थलगत अध्ययनका लागि पठाएको थियो ।

सो स्थलगत अध्ययनको क्रममा लिइएको भिडियो, पाइएको सूचना तथा त्यसलाई अध्ययन गर्न प्रयोग गरिएको प्रविधिले सो विनाशकारी हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको विभागका महानिर्देशक सरदकुमार बैद्यले जानकारी दिनु भयो । गत चैत्र १७ गते आएको विनाशकारी हावा हुरीमा परी बारा–पर्साका २७ जनाको ज्यान गएको थियो भने सयौं घाईते भएका थिए ।