बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवा मृत अवस्थामा फेला

title
सोमवार, पुस ३०, २०७५

नारायण खड्का/तनहुँ । तनहुँको भानु नगरपालिकाको २, ३ र ४ नम्बर वडा क्षेत्रमा बालबालिकालाई आक्रमण गर्दै आएको नरभक्षी चितुवा मृत अवस्थामा फेला परेको छ ।

भानु नगरपालिका–२ र ३ नम्बर वडा सिमानाको देउराली सामुदायिक वनमा नरभक्षी भाले चितुवा मृत अवस्थामा फेला परेको हो । चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ३ जना बालबालिकाको मृत्यु भएको थियो । चितुवा नियन्त्रणका लागि गत मंसिर १५ गतेदेखि आवश्यक प्रविधि सहित टोली परिचालन भए पनि चितुवा नियन्त्रणमा लिन सकिएको थिएन ।

चितुवाको आक्रमण बढ्दै गएपछि स्थानीय बासिन्दा साँझ पाँच बजेदेखि नै घरभित्र बस्न बाध्य भएका थिए । डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले मृत अवस्थामा फेला परेको चितुवा सोही नरभक्षी चितुवा रहेको पुष्टि गरेका छन् ।

सिसी क्यामरामा कैद भएका तस्बिरका आधारबाट बालबालिकालाई आक्रमण गर्ने चितुवा नै भएको उनले बताए । चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको मृत्यु भएको थियो ।