बालाजु पार्क निर्माणले गति लिएन

मङ्लबार, चैत्र २६, २०७५

शान्ता लम्साल । काठमाडौं । धार्मिक महत्व बोकेको काठमाडौंको बालाजु पार्क एक पर्यटकीय स्थल पनि हो । २०७२ सालको भूकम्पले क्षति पुर्याएको यो पार्कको पुर्ननिर्माणले भने गति लिन सकेको छैन ।

धार्मिक पर्यटन बढाउने लक्ष्यका साथ तत्कालीन राजा महेन्द्रले बनाएको बालाजुपार्क २०७२ को शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनायो । २०२१ सालदेखि सर्वसाधारणले प्रवेश पाएको यो पार्क अहिले भने कम आकर्षकको गन्तव्य हुन थालेको छ । कमजोर व्यवस्थापन र पूर्वाधारको विकास हुन नसक्दा ऐतिहासिक महत्वको बालाजुपार्क ओझेलमा परेको पार्कमा पुगेका केदारनाथ तिमल्सेनाले बताए । धेरै राम्रो सोचेर पार्क घुम्न गएकी यशोदा दाहालको भनाई पनि तिमल्सेनाभन्दा फरक छैन ।

पार्कमा रहेका २२ धारा, हरियाली वातावरण, सुन्दर पोखरी, फूलैफूलको बगैंचा पार्कका मुख्य आकर्षण हुनु । पहिले पार्क छिर्ने जो कोही पनि घण्टौं सम्म घुम्ने गर्दथे । काठमाडौंको व्यस्त दैनिकीबाट थकाई मार्न यो पार्क आकर्षक गन्त्वय पनि हो । झण्डै १६२ रोपनी क्षेत्रफलमा फैलिएको उचित मर्मत सम्भारको पखाईमा छ ।

बालाजु बाइस धारा उद्यानले पनि पार्कलाई व्यवस्थित बनाउने अभियान अघि बढाएको छ । तर, सोचेजस्तो काम नभएको कार्यालयका प्रमुख निरन्जनविक्रम बस्नेतले बताए ।

आगामी चैत शुल्क पुर्णिमामा यो पार्कमा भव्य मेला लाग्छ । यहॉका २२ मा स्नान गरे पुण्य मिल्ने र रोगव्याधी हट्ने विश्वास पनि छ । सर्वसाधारणको यो विश्वासलाई पुर्नताजगी गराउँने योजनासहित काठमाडौं महानगरले पार्क पुर्ननिर्माणको काम थालेको छ । केही प्राविधिक कारणले मात्र काममा ढिलाई भएको महानगरको दाबी छ । काठमाडौं महानगरपालिका अन्तर्गतको शहरी पूर्वाधार विकास विभागका इन्जिनियर रामचन्द्र नेपालीले अब चॉडै पार्क निर्माणले गति लिने बताए ।

धार्मिक र ऐतिहासिक महत्वको यो पार्कलाई व्यवस्थित गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको गन्तव्य बन्न सक्छ । जसले इतिहास त जिवन्त रहन्छ नै स्थानीयका लागि आम्दानीको नयॉ स्रोत पनि फेला पर्ने निश्चित छ ।