बाहिरी चक्रपथको काम रोकिनुको कारण १५ दिनभित्र दिन संसदीय समितिको निर्देशन

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । संसदीय समितिले बाहिरी चक्रपथको काम रोकिनुको कारण १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको प्रतिनिधीसभा अन्तर्गतको बिकास तथा प्रविधी समितिको बैठकले बाहिरी चक्रपथ अन्र्तगत चोभारदेखि सतुङ्गलसम्म ६ दशमलव ६ किलोमिटरको काम रोकिएपछि समितिले शहरी विकास मन्त्रालयलाई कारण पेश गर्न निर्देशन दिएको हो ।

चोभार–गाम्चा–सतुङ्गल ६ दशमलव ६ किमी दूरीको ३ दशमलव ५ वर्ग किमी क्षेत्रमा अनुमानित ७ हजार व्यक्तिको जग्गा छ । करिव ९८ प्रतिशतभन्दा बढी जग्गाधनीले चक्रपथ निर्माण गर्न सहमति दिएपनि कित्ताकाटको समस्याले काम अवरुद्ध भएको हो ।

बैठकले एकीकृत बस्ती निर्माणका लागि भू उपयोग नीति कार्यान्वयनमा ल्याउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ भने बैठकले स्याटेलाईट सिटी निर्माण गर्न देखिएका समस्यालाई पहिचान गर्दै काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले मन्त्रालयले पाएको दायित्वलाई कार्यान्वयन गर्न आफु अघि बढेको बताउनुभयो ।

मुलुक संघीयतामा गईसकेपछि संघले भन्दा प्रदेशले स्थानीय तहको बिकासका लागि ध्यान दिनुपर्ने भएपनि आवश्यक बजेट उपलव्ध गराउन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

बैठकमा समिति सदस्यहरुले आर्थिक अभावका कारण आयोजनाहरु बिचमै रोकिने खतरा देखिएको भन्दै बहुबर्षीय योजना भन्दा पनि एक बर्षीय योजनामा जोड दिन सरकारलाई सुझाएका थिए ।

त्यस्तै भौगोलिक अवस्थालाई मध्यनजर गरेर मात्र एकीकृत बस्ती बिकासमा जोड दिनुपर्ने समिति सदस्यहरुले बताएका थिए ।

बैठकले समितिका सदस्यले उठाएका प्रश्नको समेत १५ दिन भित्र जवाफ पेश गर्न शहरी बिकास मन्त्रालयलाइ निर्देशन दिएको छ ।