विप्लवले आफुलाई मार्ने टिम परिचालन गरेको प्रचण्डको खुलासा

title
बिहिबार, फाल्गुन ३०, २०७५

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई ‘बिद्रोहको कलाविहीन नाटक’ नदेखाउन सचेत गराउनु भएको छ ।

अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले आफूलाई नै पहिलो चरणमा मार्ने टिम परिचालन गरेको जानकारी सरकारले गराएको उल्लेख गर्दै उनीहरुको गतिविधि देखेर आफूलाई दया जागेर आएको प्रतिक्रिया पनि दिनु भयो ।

आज(बिहिवार) सहिद तथा वेपत्ता योद्धाहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले आफ्नो नक्कल गर्ने भ्रम पारेर अघि बढे परिणाम दूर्भाग्यपूर्ण हुने भन्दै चन्द नेतृत्वको नेकपालाई नयाँ बाटो खोजेर अघि बढ्न पनि आग्रह गर्नु भयो । उहाँले चन्दलाई यो २०५२ साल नभई २०७५ साल भएकाले परिस्थितिलाई हेरेर अघि बढ्न पनि सचेत गराउनु भयो ।

अध्यक्ष दाहालले सरकारले छिट्टै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको पुनर्गठन गर्न लागेको पनि जानकारी दिनु भयो । उहाँले सहिद तथा वेपत्ता परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने विषयमा पनि पार्टी नेतृत्वबीच सहमति भएको दावी गर्नु भयो ।

अध्यक्ष दाहालले सहिद तथा वेपत्ता परिवारका एक जना सदस्यलाई रोजगारी दिने विषयमा पनि प्रधानमन्त्री ओलीसँग आफूले छलफल गरेको पनि बताउनु भयो ।