बिम्स्टेक सम्मेलनः अन्तरदेशीय विद्युत प्रसारण मार्गको एमअाेयूमा हस्ताक्षर हुँदै

title
शुक्रबार, भदौ १५, २०७५

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको आज दोस्रो दिन काठमाडौं घोषणा पत्र तय गर्दै समापन हुँदैछ ।

सोल्टी होटलमा चलिरहेकाे सम्मेलनका लागि बिम्स्टेक सदस्य राष्ट्रहरु म्यानमार, भुटान, श्रीलंका, भारत, बंगलादेश तथा थाइल्यान्डका राष्ट्रप्रमुखहरु सहभागी छन् । सम्मेलनको दोस्रो तथा अन्तिम दिन शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीको पुलसाइडमा सबै राष्ट्रप्रमुखको सम्मानमा ‘रिट्रिट’ दिने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोपश्चात् बिहान ११ बजेबाट बिम्स्टेकको दोस्रो सत्र सुरु हुनेछ।

दोस्रो सत्रको सुरुवातमा ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीका बुँदाहरु जानकारी गराउनेछन्। सम्मेलनमा बिम्स्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’को समझदारीपत्र (एमओयू)मा सातै देशका मन्त्रीले हस्ताक्षर गर्नेछन्।

यसैगरी रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच सम्पर्क र सम्बन्ध विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्र सम्बन्धमा सम्मेलनमा छलफल हुने तथा काठमाडौं घोषणापत्र तय हुने मन्त्रालयले जनाएको छ।

सोपश्चात् नेपालले संगठनको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्दै सम्मेलन सकिनेछ। यसअघि अध्यक्ष राष्ट्रका हैसियतले बिहीबार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विकल्प नभएको बताएका थिए।

उद्घाटनपश्चात् सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस क्षेत्रका राष्ट्रहरू साझा रुपमा मौसम परिर्वतनको मुद्दाबाट गुज्रिएको बताए। उनले भने, ‘हामीले नगरेको गल्तीको सजायाँ हामीले भोगेका छौं, यो समस्याको निराकरणका लागि सामूहिक रूपमा अघि बढ्नुको विकल्प छैन।’

प्रधानमन्त्री ओलीले युवाहरूको क्षमता अभिवृद्धि गर्नमा जोड दिएका छन्। ‘युवामा लगानी गर्नु भनेको भविष्यमाथि लगानी गर्नु हो, त्यसैले युवाहरूको क्षमता बढाउन सामूहिक रुपमा अघि बढ्नु पर्छ’, ओलीले भने। बिम्स्टेक क्षेत्र विकास हुनका लागि यस क्षेत्रमा रहेका राष्ट्रबीचको दूरी घट्नुपर्ने भन्दै ओलीले सम्बोधनमा विचार र व्यापारको कनेक्टिभिटिमा जोड दिएका छन्।