बिहीबारदेखि काठमाडौंमा जोर बिजोर प्रणाली

title
सोमवार, भदौ ११, २०७५

काठमाडाैं । काठमाडौंमा हुन लागेको बिमस्टेक सम्मेलनको समयमा सवारी साधनलाई जोर र बिजोर नम्बरअनुसार सञ्चालन गरिने भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको सम्पूर्ण तयारी गरिसकेको एसएसपी बसन्त पन्तले बताए । सम्मेलनमा भाग लिने नेपाल, भारत, बङ्गलादेश, भुटान, थाइल्यान्ड, म्यानमार र श्रीलङ्काका राष्ट्रप्रमुखहरुको आवागमनलाई सहज बनाउन १३, १४ र १५ गते जोर र बिजोर नम्बरका सवारी सञ्चालन गरिने पन्तले बताए ।

ठूला, मझौला र साना सबै सवारीको नम्बरप्लेटको अन्तिम अङ्कका आधारमा जोर र बिजोर छुट्याइनेछ । १३ र १५ गते बिजोर नम्बरका सवारी सञ्चालन हुनेछन् भने १४ गते जोर नम्बरका सवारी सञ्चालन हुनेछन् । १३, १४ र १५ गते मालवाहक सवारीलाई दिउँसोको समयमा चक्रपथबाहिरै रोकिने महाशाखाले जनाएको छ । यस्ता सवारी बिग्रिएको खण्डमा ट्राफिक जाम बढ्ने हुनाले उक्त ३ दिन राति ८ देखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न दिइनेछ ।

यी सात राष्ट्रका सचिव, मन्त्रीलगायतका वरिष्ठ पाहुना १२ गतेबाट नै काठमाडौं आउन सुरु हुने सरकारको कार्यक्रमलाई मध्यनजर गर्दै सवारी व्यस्थनपनलाई चुस्त राख्न सातै प्रदेशबाट करिब १ सय ५० ट्राफिक प्रहरीलाई काठमाडौं बोलाइएको छ । उनीहरुलाई विशेष तालिम दिई आइतबारबाटै ड्युटीमा खटाइसकिएको एसएसपी पन्तले जानकारी दिए । अति विशिष्ट पाहुनाहरु १४ गते बिहानबाट काठमाडौं आउने छन् ।

सरकारको कार्यक्रमअनुसार त्रिभुवन विमानस्थलबाट सोल्टी होटल, राष्ट्रपति भवन शीतलनिवास, होटल ह्यात र गोकर्णसम्म पुग्ने तालिका रहेकाले यी स्थानका सबैजसो चोकमा महाशाखामा साविकमा रहेका १ हजार ४ सयसहित थप १ सय ५० संख्याका ट्राफिक प्रहरी खटाइनेछ । सहायक सडकबाट मुख्य सडक प्रवेश गर्ने सवारीलाई पनि ३० मिनेट पहिले नै रोकी मुख्य सडक खाली गरिने एसएसपी पन्तले बताए । पाहुनाको मर्यादाक्रमअनुसार उनीहरुको गाडीलाई लामवद्ध गरी सहज रुपमा गुडाउन र व्यवस्थित पार्किङ गर्न ट्राफिक प्रहरीहरुलाई महाशाखाले निर्देशन दिएको छ ।

“मर्यादाक्रमअनुसार हिँडेका गाडीलाई पार्किङको समयमा मिलाएर राखिएन भने पाहुनाहरुको मर्यादाक्रम बिग्रिन्छ,” एसएसपी पन्तले भने, “यसैले पाहुनाको स्कर्टिङका लागि पहिला ट्राफिक प्रहरी त्यसपछि सुरक्षा निकायको मर्यादाक्रम मिलाउन पनि ट्राफिक प्रहरीलाई तालिम र निर्देशन दिइएको छ ।”