बीर विक्रम २ को दोस्रो गीत रिलिज

title
बुधबार, बैशाख ४, २०७६

काठमाडाैँ । चलचित्र ‘बीर विक्रम २’ को दोस्रो गीत रिलिज भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको अफिसियल गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘बाचा’ बोलको गीतमा नायक पल शाह र नायिका वर्षा शिवाकोटी फिचर भएका छन् । गीतको सन्दर्भमा बोल्दै नायिका वर्षाले भनिन्, ‘यो गीत सुट गर्दा मुस्ताङको निकै चिसो सम्झना आउँछ । मेरो त कतिपय ठाउँमा चिसोले गर्दा ओठ नै खुलेको थिएन ।’ यता नायक पलले बिहान ४ वजेदेखि जागरुक रहेर कपाल बनाउने मेकअप आर्टिस्टलाई सम्झिए । गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । कोरियोग्राफरले कलाकारको मर्म र भावना बुझेर भिडियोमा उतारेको भन्दै कविराजको पलले प्रसंशा गरे । यता कविराजले यो टिमसँग जोडिनु पाउनु खुसीको कुरा भएको बताए ।

चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । उनले चलचित्रलाई उत्कृष्ट बनाउने प्रयास गरिएको बताए । मुस्ताङ र यूरोपमा छायांकन गरिएको गीतमा दीपा लामा र ताराप्रकाश लिम्बुको गायन रहेको छ । सञ्चारकर्मी नरेश भट्टराईको शब्द रहेको गीतमा ताराले संगीत भरेका छन् । यस अघि सार्वजनिक ‘पिरतीको मिठो तिर्सना’ गीतलाई भने दर्शकले निकै मन पराएका छन् ।

यो चलचित्र नेपाल रिलिज पूर्व हङकङमा प्रिमियर गरिदैछ । यहि वैशाख महिना भित्र हङकङमा शो गरिने निर्माण पक्षले जनाएको छ । नेपालमा भने आगामी जेठ ३ गतेलाई प्रदर्शन तय गरिएको छ । प्रदीप भारद्वाजको लेखनमा सुदीप बराल छायांकित यो चलचित्रमा मिलन चाम्स, अर्पण सापकोटा र रन्जिता शिवाकोटीको लगानी रहेको छ । रेगुलर फिल्म दिने मेकरका रुपमा परिचित मिलनले ‘बीर विक्रम’ सफल भएपछि यसको सिक्वेल निर्माण गरेका हुन् ।

चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल लगायतका कलाकारले प्रमुख भूमिका निभाएका छन् ।