बुढीगण्डकी जलविद्युत आयोजनाको क्षमता ९ सय मेघावाट बनाउन मन्त्री पुनको प्रस्ताव

title
बिहिबार, माघ १०, २०७५

काठमाडौ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले धादिङ र गोर्खा जिल्लाको सिमानामा पर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको क्षमता घटाउने प्रस्ताव गर्नुभएको छ ।

सिंहदरबारमा बिहिवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा मन्त्री पुनले बुढीगण्डकीको क्षमता १२ सयबाट ९ सय मेघावाट बनाउन उपयुक्त हुने बताउनु भएको हो । उर्जा मन्त्री पुनले आयोजनाको क्षमता घटाएर आरुघाट, आर्खेत र खहरे बस्ती जोगाउन उपयुक्त हुने बताउनुभयो । आयोजनाबाट ३८ सय परिवार विस्थापित हुने प्रतिवेदन तयार भएको छ । आयोजनाको ड्याम साइटमा पर्ने धादिङ जिल्लाको साविक सलाङ गाउँ विकास समिति र गोर्खा जिल्ला साविकको घ्याल्चोक गाविसका १ हजार परिवारलाई यसैवर्ष भित्र पुनर्वास गराउने मन्त्री पुनले बताउनुभयो ।

सरकारको पूर्वाधार विकास कोषमा जम्मा भएको २१ अर्ब रकम आयोजना प्रभावितलाई क्षतिपूर्ति र पुनर्वास गराउने कार्यमा खर्च गर्ने उहाँले जानकारी दिनुभयो । समितिको बैठकमा अधिकांश सांसदले प्रोत्साहन भत्ता उपलब्ध गराउँदै थप कर्मचारीको व्यवस्था गर्न माग गरेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार धादिङतर्फ साविकको चैनपुर, सलाङ, मैदी, खरी, ज्यामरुङ, सल्यानकोट र आगिञ्चोक गरी कूल ८ सय ८१ जग्गाधनीको एक हजार ७ सय १० कित्ता जमीनको रु एक अर्ब ९४ करोड ८० लाख बैंकमा दाखिला भएको छ ।

त्यस्तै गोरखा तर्फको साविक फुजेल, नामजुङ, बुङकोट, बोर्लाङ, दरबुङको एक हजार ५ सय ८२ जग्गाधनीको रु दुई अर्ब ७५ करोड ७० लाख बराबरको रकम बैंकमा दाखिला भएको छ । आयोजनजाको प्रमुख समस्याको रूपमा पुनर्बास, पुनःस्थापना, जनशक्ति व्यवस्थापनमा चुनौती देखिएको छ ।