बुढीनन्दा नगरपालिकाले सुरु गर्याे छाउपडी गोठ भत्काउन विशेष अभियान

title
बिहिबार, माघ ३, २०७५

प्रेम बिक, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले सेवाक्षेत्र भित्रका छाउपडी गोठ भत्काउन निर्देशन जारी गरेको छ ।

छाउ गोठमा बस्ने तथा बसाउनेलाई नगरपालिकाले दिने सेवा सुविधा उपलव्ध नगराउने निर्णय सहित नगरपालिकाले छाउपडी गोठ भत्काउन विशेष अभियान थालेको हो । सामाजिक कु–संस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि नगर कार्यपालिकाको बैठकले नगरका दश वटै वडालाई १० दिन भित्र छाउपडी गोठ मुक्त बनाउने र छाउ भएका महिलालाई सुरक्षित कोठामा बस्ने वातावरण मिलाउने अभियान चलाएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरीले बताउनु भयो ।

छाउ गोठमा भएको आगलागीमा आमा सहित दुई छोराको मृत्यु भएपछि नगरपालिकाले यस्ता गोठ हटाउन निर्देशन गरेको हो । नगरपालिकाका १० वटै वडामा छाउ गोठको तथ्याङ्क संकलन थालीएको र छाउगोठहरु सुधार गर्दै लैजाने उपप्रमुख सृष्टी रेग्मीले बताउनु भयो ।

छाउ गोठ नहटाउने परिवारलाई नगरपालिकाले जन्मदर्ता, मृत्युदर्ताको सामाजिक सुरुक्षा भत्ता लगायतका सेवा सुविधा रोक्ने छ । जिल्लामा छाउ गोठमा बसेका महिलाको विभिन्न कारणले ज्यान जान थालेपछि जिल्ला प्रहरी कार्यालय बाजुराले ९ वटै स्थानीय तहमा रहेका ६९ वडामा प्रत्येक गाउँ टोलमा छाउपडी गोठको तथ्याङ्क संकलन सुरु गरेको छ ।