बेलग्रेडसंग लिभरपुल पराजित

title
बुधबार, कार्तिक २१, २०७५

एजेन्सी । इंग्लिश प्रिमियर लिग क्लब लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा लिभरपुल सर्बियन क्लब रेड स्टार बेलग्रेडसंग २ – ० ले पराजित भएको हो ।

घरेलु मैदानमा लिभरपुललाई स्तब्ध बनाउन मिलान पाभकोभले दुई गोल गरे । पहिलो हाफमा बेलग्रेडका पाभकोभ नायक बनेपछि लिभरपुलले हार व्यहोरेको हो ।

पहिलो हाफको २२ औं मिनेटमा पाभकोभले गोल गर्दै बेलग्रेडलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २९ औं मिनेटमा पाभकोभले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बेलग्रेड २ – ० ले अघि रह्यो ।

दोस्रो हाफमा लिभरपुल खेलमा फर्कन सकेन र बेलग्रेडसंग २ – ० ले स्तब्ध बन्यो । बल पोजिसनमा पकड जमाएको लिभरपुलले पाएको मौका सदुपयोग गर्न सकेनन् । उसले बेलग्रेडको पोष्टमा आधा दर्जन बढी आक्रमण गरेको थियो ।

हारसंगै समूह ‘सी’ को लिभरपुल लिगको दोस्रो स्थानमा झरेको छ । लिभरपुलले ४ खेलबाट ६ अंक जोडेको छ । लिभरपुलको दोस्रो चरणमा पुग्ने सम्भावना कायम रहेको छ । बेलग्रेड ४ खेलबाट ४ अनक जोडेर पुछारमा छ ।

यस समूहको शीर्ष स्थानमा इटालियन क्लब नेपोली रहेको छ । नेपोलीको पनि ६ अंक छ । तर, गोल अन्तरमा अघि रहेको छ ।

नेपोलीले मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) संग १ – १ गोलको बराबरी खेलेका थिए ।

लोरेन्जोले एक गोल फर्काएका थिए । खेलमा जुवान बर्नाटले गोल गर्दै पिएसजीलाई पहिलो हाफमा सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा नेपोलीका लोरेन्जोले पेनाल्टीमा गोल गर्दै खेल १ – १ को बराबरी बनाएका थिए ।

यस समूहमा ४ खेलबाट ५ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ ।