बैशाख ११ बाट राष्ट्रपतिको चीन भ्रमण

title
शनिबार, बैशाख ७, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको वैशाख ११ गतेदेखि चीनको भ्रमण हुने भएको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटन समारोहमा सहभागी हुनुका साथै त्यहाँ रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिसँगको द्विपक्षीय वार्तामा सहभागी हुनुका साथै वरिष्ठ चिनियाँ अधिकारीहरूसँग भेट गर्नुहुनेछ ।

राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहनेछ । चीनका राष्ट्रपति सी जिनपिङको निमान्त्रणमा भ्रमण गर्न थालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।