ब्याडमिण्टनमा विभागीय टोलीको वर्चश्व

title
शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका तीन खेलाडी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरुष एकलतर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको क्वार्टरफाइनलमा सेनाका रत्नजित तामाङ पुलिसका निर बिक्रम देवकोटालाई २१–१७, २१–१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका छन् । अब सेमिफाइनलमा उनले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्नेछन् । रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१–१६, २१–१९ ले हराउँदै सेमिफाइनलमा पुगेका छन् ।

यस्तै सेनाका अर्का खेलाडी नवीन श्रेष्ठले भोजपुरका बिकास श्रेष्ठलाई २१–१९, २१–११ ले हराए । श्रेष्ठले फाइनल प्रवेशका लागि एपीएफका दिपेश धामीको सामना गर्नेछन् । दिपेशले शिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१६, २२–२० ले पराजित गरे ।

महिला एकलतर्फ नेपाली सेनाका दुई र एपीएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । बिहीबार भएको क्वाटरफाइनलमा सेनाकी नङशल देवी तामाङ बाँकेकी सम्झना शर्मालाई २१–१२ र २१–८ ले हराउँदै सेमिफाइनलमा पुगिन् । फाइनल प्रवेशका लागि नङशलले एपीएफकी शोभा गौचनसँग खेल्नेछिन् ।

शोभा सेनाकी अनुमाया राईलाई हराउँदै सेमिफाइनलमा पुगेकी हुन् । यस्तै सेनाकी रशिला महर्जनले गत सातौं संस्करणकी विजेता एपीएफकी जेशिका गुरुङसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछिन् । रशिलाले सेनाकै रञ्जना भट्ट र जेशिकाले सेनाकी अमिता गिरीलाई हराए ।

नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु—१७ व्वाईज तर्फ शिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१–७, २१–९ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । यस स्पर्धामा जेष्ठ ब्याडमिण्टनका प्रियांशु सिंह क्षेत्री र पेम्बा शेर्पा तथा सेनाका दिवश शंकरले पनि सेमिफाइनलमा स्थान बनाए ।

यु—१७ गल्र्स तर्फ सेनाका रशिला महर्जन र रञ्जना भट्ट तथा मोरङका रोज पाण्डे र सीमा राजवंशी अन्तिम चारमा पुगे ।
पुरुष युगलतर्फको खेलमा एपीएफका दिपेश धामी र विजित थापा मगर तथा गौतम कठायत र सुनील जोशीको जोडी अन्तिम चारमा पुग्यो । यस्तै सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तथा रत्नजीत तामाङ र नविन श्रेष्ठको जोडीले पनि सेमिमा स्थान पक्का गरे ।

प्रतियोगिताको महिला युगल तर्फ सेनाका अनुमाया राई र अमिता गिरीको जोडीले सेमिफाइनलमा एपीएफका पूजा श्रेष्ठ र जेशिका गुरुङको सामना गर्ने भएका छन् । यस्तै अर्को प्रतिस्पर्धा सेनाका नङ्शल तामाङ र रशिला महर्जनको जोडीले भोजपुर र बाँकेका सीता राई र सम्झना शर्माको जोडीबीच हुनेछ ।