ब्याडमिन्टनबाहेक सबै खेलमा नेपालको कमजोर प्रदर्शन

title
सोमवार, भदौ ४, २०७५

काठमाडौं । इन्डोनेयिामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपालले खराब शुरुवात गरेको । जारी प्रतियोगिताको पहिलो दिन नेपालले ६ खेलमा प्रतिस्पर्धा गरेकोे थियो । जसमा नेपाली खेलाडीको पुरुष ब्याडमिन्टन टिम बाहेक सबै खेलमा कमजोर प्रदर्शन देखियो ।
ब्याडमिन्टनः नेपालले पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपाल आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो । नेपालबाट रत्नजित तामाङ, दिपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले क्वाटरफाइनलमा मंगलबार चाइनिज ताइपेईं विरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, नेपाली महिला ब्याडमिन्टनको टिम भने पराजित भएको छ । माल्दिभ्सले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालबाट नङशल तामाङ, जेशिका गुरुङ, रशिका महर्जन र अमिता गिरीले खेलेका थिए ।

कुस्तीमा नेपालको चुनौती समाप्तः कुस्तीमा नेपालको चुनौती समाप्त भएको छ । कुस्तीमा नेपालबाट ३ पुरुष खेलाडीले भाग लिएका थिए । आइतबार तीनै खेलाडीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो ।
५७ केजीमा भागवत शाह तेली इरान, ७५ केजीमा सुरेश चुनारा जापान तथा ६५ केजीमा सरोज यादव मंगोलियाका खेलाडीसंग पहिलो चरणमै पराजित भए । तीनै खेलाडी १०–० ले पराजित भए ।

तेक्वान्दोः तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङ पराजित भएका छन् । कमल र पार्वती दुवै चाइनिज ताईपेईंका खेलाडीसँग पराजित भएका हुन् । महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईंसँग पछि पर्यो । त्यसअघि उज्वेकिस्तान टोली डिस्क्वालिफाइ घोषित भएपछि नेपाल क्वाटरफाइनलमा सीधै प्रवेश गरेको थियो ।
सोमबार महिला ५३ केजीमुनि निमा गुरुङ, ६७ केजीमुनि संगीता बस्याल र पुरुष ५८ केजीमुनि सागर गुभाजुले प्रतिस्पर्धा गर्नेछन् ।

सुटिङः नेपालले मिक्स टिम इभेन्टमा समग्रमा २२ औं स्थान हासिल गरेको छ । २२ राष्ट्रका खेलाडी सहभागी मिक्स टिम इभेन्टमा सुस्मिता नेपाल र सुशे चौधरीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका थिए । ४३६ पुर्णाङ्कमा सुस्मिताले ४०३।५ र सुशे चौधरीले ३७२।९ अंकको प्रदर्शन गरे । अब सुस्मिता र सुशेसहित कल्पना परियारले व्यक्तिगत १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् ।

कबड्डीः पुरुष कबड्डीको समूह ‘बी’ को लिग खेलमा आयोजक राष्ट्र इन्डोनेसियाले नेपाललाई ३३–२९ ले हरायो । ११ राष्ट्र सहभागी पुरुष कबड्डीको समूह ‘बी’ मा नेपाल, इन्डोनेसियासहित जापान, इरान, मलेसिया र पाकिस्तान छन् । नेपालले मंगलबार जापान, बुधबार इरान र मलेसिया तथा अगष्ट २३ तारिखमा पाकिस्तान विरुद्ध खेल्ने कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए ।