ब्लुमफिल्डविरुद्ध मैदानमा उत्रिंदै नेपाली क्रिकेट टोली

title
शुक्रबार, भदौ ८, २०७५

दोस्रो अभ्यास खेल आज
काठमाडौं– एसिया कप छनोट खेलको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले शुक्रबार दोस्रो अभ्यास खेल खेल्ने भएको छ । पहिलो खेलमा शानदार प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि सुखद् नतिजा निकाल्ने दाउमा रहेको छ ।

शुक्रबार नेपाली टोलीले श्रीलंकाको ब्लुमफिल्डसँग उसैको मैदानमा खेल्न लागेको हो । त्यसपछि नेपाली टोलीले आइतबार कोल्टसँग अन्तिम अभ्यास खेल खेल्नेछ । त्यसपश्चात नेपाली टोली भदौ ११ गते मलेसिया प्रस्थान गर्नेछ ।
श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लब पुरानो क्रिकेट क्लब हो । सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ । श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो ।

यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ । यस क्लबमा हाल उमेर समूहमा उच्च प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको छ । युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन् ।

यो टोलीसँग नेपाली टोलीले जित हासिल गर्नु त्यति सहज नभए पनि नेपाली टोलीले धैर्यता गुमाएका छैनन् । पहिलो अभ्यास खेलमा श्रीलंकाको आर्मी क्रिकेट टिममाथि ६७ रनको जित हासिल गरेसँगै नेपाली खेलाडीमा थप उर्जा मिलेको छ । अभ्यास खेलमा जित हासिल गर्नुभन्दा पनि नेपाली टोलीको प्रमुख लक्ष्य भने एसिया कपमा स्थान बनाउनु रहेको छ । नेपाली टोलीका लागि एसिया कप खेल्न पाउनु निकै नै ठूलो अवसर पनि हो ।

एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् । जहाँ ओडिआई मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने अबसर समेत प्राप्त गर्नेछन् ।

नेपाली टोलीमा एसिया कप छनोटको लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ । जसमा ब्याट्सम्यान विनोद भण्डारी र अलराउण्डर सागर पुनले झण्डै ८ महिनापछि राष्ट्रिय टिममा कमब्याक गरेका छन् । बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट अन्तिम १५ खेलाडी छनोट गरिएको हो । अगष्ट १ र ३ मा नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेलेको टिममा रहेका १५ मध्ये शरद भेषावकर र शक्ति गौचन छनोट खेल्ने टिममा छैनन् । शक्तिले सन्यास घोषणा गरिसकेका छन् भने शरद चोटका कारण क्याम्पमै परेका थिएनन् ।

नेपालले पछिल्लो पटक नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेको थियो । उक्त खेलमा एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको नेपाली टोलीले एसिया कप छनोटको लागि अन्तिम तयारीमा जुटेको हो । नेपाली टोलीको बलिङ पक्ष राम्रो रहे पनि ब्याटिङ पक्ष अझै राम्रो हुन सकेको छैन । तर पनि विगतका तुलनामा नेपाली पक्षको ब्याटिङ पक्ष पनि सुधारोन्मुख रहेको छ ।