भदौमा रोचक भिडन्त, अनमोलसँग साम्राज्ञी भिड्ने

title
शुक्रबार, पुस २०, २०७५

काठमाडौं– नेपाली चलचित्रमा प्रायः शुक्रबार नयाँ नयाँ चलचित्र प्रदर्शनमा आउँछन् । पछिल्लो समय सोलो रिलिजको अवस्था देखिँदैन । एकल प्रदर्शनमा आएका चलचित्रले पनि दर्शकको राम्रो साथ नपाएको अवस्थामा बीग बजेटका चलचित्र एकसाथ प्रदर्शनमा ल्याइँदा हालत के होला ? सहजै अनुमान लगाउन सकिन्छ । तर निर्माण पक्ष भने आ–आफ्नो चलचित्र अब्बल भन्दै को भन्दा को कमको स्थितिमा मैदानमा उत्रिन्छिन् । अन्नतः लगानी डुबाएर रित्तो हात घर फर्किनु परेको विगतका धेरै भिडन्तले देखाएको परिणाम हो ।

कथावस्तु, चलचित्र मेकिङ, कलाकारको अभिनय लगायत दर्शक तान्ने महत्वपूर्ण अस्त्र हुन् चलचित्रका लागि । चलचित्रका रोचक भिडन्तले निर्माण पक्षको लागनी उठ्न मुस्किल भएको अवस्थामा आगामी नयाँ वर्षको भदौमा पनि यस्तै रोचक भिडन्त हुने पक्का भएको छ । भदौ १३ मा चलचित्र ड्रिम्सबाट चलचित्र यात्रा थालेकी अहिलेकी चर्चित अभिनेत्री राम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको चलचित्र मारुनी र अनमोलको अभिनय रहेको चलचित्र ब्याचलर बन्टी’ प्रदर्शनमा आउने पक्का भएको छ ।

यस अघि यी दुवैको अभिनय रहेको चलचित्र ड्रिम्सले बक्स अफिसमा दर्शकका राम्रै साथ पाएको थियो । अब भने यी दुई अभिनेता अभिनेत्री एक अर्काको प्रतिस्पर्धीका रुपमा देखिदैछन् । त्यस्तै यही मितिमा विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको चलचित्र ‘हजार जुनी सम्म’ आउने चर्चा पनि छ ।

चलचित्रको छायांकन शुरु भएको छैन तर पनि मारुनी टोलीले आफ्नो प्रदर्शन मिति भने भदौ १३ लाई पक्का गरेको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो चलचित्रलाई पनि भदौ १३ गते नै रिलिज गर्ने सहमती गरिएको हो । काठमाण्डौ बाहिरका लागि एफडी कम्पनीले यो मितिलाई फाइनल गरेको हो । एफडीका प्रमुख नरेन्द्र महर्जनले निर्माताको माग अनुसार नै रिलिज मिति तय गरिएको बताए ।

चलचित्रमा साम्राज्ञीका अलाव पुष्पल खड्का र रेबिका गुरुङ मुख्य भूमिकामा छन् । त्रिकोणात्मक प्रेमकथा बन्न लागेको चलचित्रमा गोविन्द फुयाँल र निर्देशक नवल नेपालको कथा छ । संजय लामाको छायांकन रहने चलचित्र टोली माघको अन्तिमबाट फ्लोरमा निस्किनेछ । चलचित्रको निर्माणमा अजय पोखरेल र राजा प्रधानले पूनमलाई साथ दिएका छन् । यसअघि चलचित्रको घोषणासँगै चलचित्रको फस्टलुक पोस्टर भव्य कार्यक्रमकाबीच सार्वजनिक भएको थियो । चलचित्रको फस्टलुकमा आधा अनुहार नायिका साम्राज्ञी र आधा अनुहार नायक पुष्पल खड्काको देखाइएको थियो ।

यसैबीच, अहिलेका चर्चित अभिनेता अनमोल केसीले ५० लाख पारिश्रमिकमा साइन गरेको फिल्म ‘ब्याचलर बन्टी’ निर्माण हुने निश्चित भएको छ । केही दिनदेखि उक्त फिल्म निर्माण नहुने चर्चा सिनेवृतमा सुरु भएको थियो । हालै एक कार्यक्रममा निर्देशक मिलन चाम्सले आफ्नो र अनमोलको समय मिलाएर फिल्म गर्ने बताएका थिए ।

गत बुधबार निर्देशक चाम्स, निर्माता सुदीप खड्का र अभिनेता अनमोलबीच भएको छलफलबाट फिल्मको छायांकन बैशाखबाट शुरु गर्ने सहमति भएको हो । अर्थात् अनमोलले आफू अभिनित दुई फिल्म ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ रिलिज भएपछि उक्त फिल्म गर्ने जनाएका हुन् । ‘क्याप्टेन’ फागुन १७ र ‘ए मेरो हजुर ३’ चैत २९ मा रिलिज हुँदैछन् । फिल्मको रिलिज भने अर्को वर्षको तीज अर्थात् भाद्र १३ गतेलाई तय गरिएको छ ।