भदौ ५ गते भित्र सबै तहको एकता हुने (नेकपा)का अध्यक्ष दाहालको भनाई

title
बिहिबार, साउन १७, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टको पछाडि ब्राकेटमा पुच्छर झुन्ड्याउने लहरको अन्त्य भएको बताउनुभएको छ ।

तुल्सीलाल अमात्य स्मृति दिवसका अबसरमा तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाले अब कम्युनिष्ट बिचको एकता तिव्र रुपमा अघि बढ्ने समेत बताउनुभयो । अध्यक्ष दाहालले मुलुककै ठूलो कम्युनिष्ट एकतालाई असफल बनाउने खेल बढ्दै आएको समेत बताउनुभयो ।

अध्यक्ष दाहालले भदौ ५ गते भित्र सबै तहको एकता हुने जानकारी दिदै एकतापछि सबै केन्द्रीय तहका नेता स्थानीय तहसम्म पुगेर पार्टीको नीति तथा कार्यक्रम पुराउने जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा नेता नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको माध्यम सामाजिक न्यायसहितको समृद्धि र समाजवाद उन्मुख समृद्धि भएको बताउनुभयो ।

कार्यक्रमअघि नेताहरुले तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा रहेको तुल्सीलाल अमात्यको शालिकमा माल्यार्पण गरेका थिए ।