
काठमाडौं। भारतको राजधानी दिल्लीमा खराब मौसमका कारण उडान तथा रेल सेवा प्रभावित भएका छन् । बाक्लो कुहिरोले हिजो दिल्लीको गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै दुई सय उडान ढिलाइ तथा केही रेल सेवा प्रभावित भएको हो ।
दिल्ली इन्टरनेशनल एअरपोर्ट लिमिटेड (डीआईएएल) ले मौसम खराबका कारण उडानहरू प्रभावित भएका जनाएको छ ।
त्यसअघि नै यात्रुहरूलाई अद्यावधिक उडान जानकारीको लागि सम्बन्धित एअरलाइन्समा सम्पर्क गर्न सल्लाह दिइएको थियो । कम भिजिबिलिटीका कारण स्पाइसजेट, इन्डिगो र एअर इन्डियालगायतका एयरलाइन्सका उडान प्रभावित भएका हुन् ।
भारतीय रेलवेले कम्तीमा २४ वटा रेल बाक्लो कुहिरोका कारण ढिलाइ भएको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । केही रेल सेवा झण्डै पाँच घण्टासम्म ढिलो भएका थिए ।
मौसम विभागले आज पनि दिल्लीमा बाक्लो कुहिरोको चेतावनी जारी गरेको छ । बाक्लो कुहिरो उत्तरपश्चिम तथा मध्य भारतका केही भागहरूमा रहने र आज बेलुका वा भोलि बिहानपछि सुधार हुने सम्भावना रहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।