भारतद्धारा पुनःनिर्माणका लागि थप १ अर्व ६० करोड सहयोग

सोमवार, जेष्ठ २७, २०७६

काठमाडौ । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्ता वापतको रकम १ अर्व ६० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

आज(सोमवार) अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्ता वापतको रकम १ अर्व ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरे । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्ता वापत यस अघि नै २ अर्व १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

कार्यक्रममा नेपालका लागि भारतका राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताए ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।