
काठमाडौं। भारत सरकारले आज दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरुले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न नेपालको पुनर्निर्माण प्रयासलाई सहयोग गर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुलहरु भारत सरकारले अनुदानको रुपमा प्रदान गरेको हो । यी सामानहरु वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गरेको दूतावासले जनाएको छ । प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरु आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने जनाइएको छ ।
साथै, बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामाग्री, औषधी, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामाग्री उपलब्ध गराएको छ ।