भारतसँग यु–१९ टोलीले सिरिज खेल्ने पक्का

title
शुक्रबार, साउन २५, २०७५

ओपन ट्रायलबाट खेलाडी छनोट, क्रिकेटमा ठूलो अवसर
काठमाडौं । यु–१९ एक दिवसीय क्रिकेट सिरिजमा सहभागिताका लागि भारतले गरेको प्रस्तावलाई स्वीकार्दै नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाली यु–१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले नेपालले सहभागिता जनाउन लागेको जानकारी दिएका हुन् । नेपाली टोलीका प्रशिक्षक दासले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिरिज खेल्ने जानकारी दिए ।

नेपाली यु–१९ क्रिकेट टिमलाई तयारी अवस्थामा राख्नका लागि ३ दिनको छनोट प्रतियोगिता राखेको पनि प्रशिक्षक दासले जानकारी दिए । साउन २८, २९ र ३० गरी ३ दिन रातोपुलस्थित भेलोसिटी एरिनामा छनोट हुनेछ । छनोटमा सहभागिताका लागि सन् १९९९ सेप्टेम्बर १ तारिखपछि जन्मिएका खेलाडीले मात्र भाग लिन पाउने छन् ।

त्यस्तै, खेलाडी १६ वर्ष पुगेको हकमा भने नागरिकता लिएर उपस्थित हुनुपर्नेछ भने त्यो भन्दा कम भएको खण्डमा सीडिओ कार्यालयबाट आफ्नो जन्म मितिको डकुमेन्ट लिएर उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, प्रशिक्षक दासले आईसीसीको स्वीकृति कुरेर बसेको पनि बताए । प्रशिक्षक दासले भने ‘आईसीसीबाट स्वीकृत हुन केही समय लाग्ला । तर आईसीसीले स्वीकृत नदिने कुनै कारण छैन । किनभने एसिया कपको तयारीको लागि पनि हो ।’

नयाँ प्रतिभाको खोजी

भारतमा हुने यू–१९ एकदिवसीय सिरिज र बंगलादेशमा हुने यू–१९ एसियाका कपका लागि टिम निर्माण गर्न प्रशिक्षक विनोद दासले युवा खेलाडीको ओपन ट्रायल गर्ने भएका छन् । यू–१९ टिमका मुख्य प्रशिक्षक दासले आफ्नै सक्रियतामा यही साउन अन्तिममा खेलाडी छनोटका लागि ट्रायल गर्न लागेका जानकारी दिएका हुन् ।

‘यू–१९ सिरिज र यू–१९ एसिया कपलाई मध्यनजर गर्दै यही साउन २८ देखि ३० सम्म भेलोसिटी एरेनामा ओपन ट्रायल गर्दैछु । आइसीसी र एसियाको प्रक्रिया लामो हुने भएकोले आफ्नै सक्रियतामा यो काम गर्न लागेहो हुँ ।’ दासले भने । गत वर्ष एसिया कप खेलेका यु–१९ टोलीका ४ खेलाडी हाल सिनियर टिममा खेलिरहेका छन् भने अन्य खेलाडीले पनि प्रतियोगिताहरु खेल्न पाएका छैनन् ।

नयाँ प्रतिभा खोज्न र देशैभरीबाट खेलाडी आउन् भन्ने उदेश्यले यो ओपन ट्रायल गर्न लागिएको हो । ‘अहिले मनसुन चलिरहेको र ठाउँ पनि उपलब्ध नभएका कारण इन्डोरमा ट्रायल हुनेछ ।’ ट्रायलमा १ सेप्टेम्वर १९९९ यता जन्मेका खेलाडीले भाग लिन पाउनेछन् । १६ वर्ष कटेकाले अनिवार्य नागरिकता र नकटेकाले जिल्लाबाट आवश्यकत कागज पत्र ल्याउनुपर्ने दासले बताए । दासका अनुसार तीन दिनको ट्रयालपछिमा कम्तीमा ९ खेलाडी छानिनेछ ।

‘त्यसबाहेक गत वर्षको यू–१६ टिमको १४ जना, सात प्रदेशबाट ३–३ जनाका दरले २१ गरी कूल ४४ जनाको यू–१९ क्याम्प राखिनेछ । राम्रो ट्यालेन्ट आए ओपन ट्रायलबाट केही खेलाडी थप छानिन सक्नेछन् ।’ दासले खेलाडी छनोट प्रकियाबारे जानकारी दिए ।

यस्तै उक्त ट्रायलमा युवा प्रशिक्षकहरुलाई पनि संलग्न हुने आफूले जानकारी गराएको दासले बताए। ४४ जनाको क्यापबाट यू–१९ टिमका लागि अन्तिममा १२ खेलाडी छनोट गरिनेछ । छनोट भएका १२ र गत वर्षको यू–१९ टोलीमा रहेका ७ गरी १९ जनाको टिम निर्माण गरिनेछ । त्यसैबाट भारतमा हुने सिरिज र बंगलादेशमा हुने यू–१९ एसिया कपका लागि टिम घोषणा गरिनेछ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले भारतको २ वटा टिम, अफगानिस्तानसहित गरी नेपाललाई सिरिज खेल्न प्रस्ताव गरेको थियो । भारतको यु–१९ टोली, भारतकै नेसनल क्रिकेट एकेडमी (एनसीए) र अफगानिस्तानको यु–१९ र नेपालको यु–१९ टिमले सिरिजमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको लागि यो सिरिज एसिया कपको तयारीको रुपमा पनि रहेको छ । त्यसैलाई मध्यनजर गर्दै सिरिजमा भाग लिन लागेको प्रशिक्षक दासले जानकारी दिए । अक्टोबरमा बंगलादेशमा आयोजना हुने एसिया कपमा नेपालसहित, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोली रहेका छन् ।