
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशन अन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ ।
इसरोले स्थानीय समय अनुसार बिहान ०९ः२० बजे पहिलो प्रयासमा स्पाडेक्स उपग्रहहरू अनडक गर्ने कार्य पूरा गर्यो । अन्तरिक्ष एजेन्सीले उपग्रहहरूको अनडकिङ ४५ डिग्रीको झुकावमा ४६० किलोमिटरको गोलाकार कक्षमा भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, एजेन्सीले उपग्रहहरू अहिले स्वतन्त्र रूपमा परिक्रमा गरिरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।
स्प्याडेक्स जनवरी १६, सन् २०२५ मा डक गरिएका थिए । एक वरिष्ठ अधिकारीका अनुसार पछिल्लो अन्तरिक्ष विकासले भारतीय अन्तरिक्ष स्टेशन, चन्द्रमा अभियान र आकाश यान लगायत भविष्यका अभियानहरूको सहज सञ्चालनको लागि मार्ग प्रशस्त गर्नेछ ।
इसरोले डिसेम्बर ३०, सन् २०२४ मा दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा अवस्थित बङ्गालको खाडीको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट दुई उपग्रहहरू – एसडीएक्स०१ र एसडीएक्स०२ सहित ध्रुवीय उपग्रह प्रक्षेपण यान (पीउस्एलभी–सी६०) प्रयोग गरेर स्पाडेक्स मिसन प्रक्षेपण गरेको थियो ।
‘डक गरिएका उपग्रहहरूको इन–अर्बिट कार्यसम्पादनको व्यापक विश्लेषण गरिएको थियो । सम्पूर्ण सञ्चालनलाई ग्राउन्ड स्टेशनहरू मार्फत निगरानी गरिएको,’ इसरोले जनाएको छ ।
‘अनडकिङको यो प्रमुख कोशेढुङ्गा हासिल गरेपछि, आगामी दिनहरूमा उपग्रहहरूसँग थप प्रयोगहरूको योजना बनाइएको छ,’ एजेन्सीले विज्ञप्तिमा उल्लेख गरेको छ । -रासस