भारतीय कलाकार कादर खानको क्यानडामै अन्तिम संस्कार

title
बुधबार, पुस १८, २०७५

काठमाडौं । बलिउडका दिग्गज कलाकार कादर खानको मृत्यु भएको छ । उनको ८१ वर्षको उमेरमा निधन भएको हो । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा बस्दै आएका थिए । उनको दाहसंस्कार पनि क्यानडामै गरिने भएको छ ।

सास फेर्न गाह्रो भएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बाइपेप भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको बोली बन्द हुनुका साथै निमोनियाको लक्षण पनि देखिएको थियो । उनी प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी (पिएसपी) बाट ग्रसित थिए । यो एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।

अफगानिस्तानको काबुलमा अक्टोबर २२ तारिखमा जन्मिएका कादर खान निकै चर्चित कलाकार हुन् । उनको खुन भरी मांग, विवी हो तो एसी, बोल राधा बोल, मे खिलाडी तु अनारी, दुल्हे राजा र हसिना मान जायजी फिल्म चर्चित रहे । उनी सन् २०१५ मा रिलिज भएको ‘हो गया दिमागका दही’ मा अन्तिम पटक देखिएका थिए ।

आइतबार अबेर राती उनको मृत्युको अफवाह फैलिएको थियो । यसबारे उनका छोरा सरफराजले बुवाको उपचार भइरहेको र जिवित भएको स्पष्टिकरण दिएका थिए । यसका साथै उनले अफवाह नफैलाउन पनि आग्रह गरेका थिए । खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो ।

टाइम्स अफ इन्डियाले उनका छोरा सर्फराजलाई उद्धृत गर्दै डिसेम्बर ३१ मा उनको निधन भएको उल्लेख गरेको छ । उनको अन्तिम संस्कार क्यानडामै गरिने समाचारमा जनाइएको छ । उनका ३०० भन्दा बढी फिल्म छन् । उनले २५० भन्दा बढी फिल्ममा सम्वाद लेखेका छन् । अभिनयमा आउनुअघि उनले रवीन्द्र कपुर र जया बच्चनको ‘जवानी दिवानी’ मा सम्वाद लेखेका थिए ।