भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष दाहालको उच्चस्तरीय राजनीतिक भेटघाट जारी

title
शनिबार, भदौ २३, २०७५

काठमाडौं । भारतको ३ दिने नीजि भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतमा उच्चस्तरीय राजनीतिक भेटघाट जारी राख्नुभएको छ ।

आज दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग लोकमान्य मार्गस्थित् निवास मै गएर एक्लै भेटवार्ता गर्नुभएको छ । दिल्ली ओर्ले लगत्तै पूर्वप्रधानमन्त्री दाहालले भारतका गृहमन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग ‘वान इन वन’ भेट गर्नुभएको थियो ।

मोदीसँगको भेट लगत्तै प्रचण्डले आजै भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग छलफल गरेको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

विदेश मन्त्रालयमा स्वराजलाई भेटेपछि दाहालले दिउँसोको खाना समेत त्यही खाएको र आजै साँझ भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेसनको डिनर भेटमा सहभागी हुने दिल्लीस्थित् नेपाली दुतावासले जनाएको छ ।

दाहालले दिल्लीमा पत्रकारहरुसंग कुरा गर्दै आफ्नो भ्रमण राजनीतिक भन्दा आर्थिक र द्धिपक्षीय सम्बन्धमा केन्द्रित रहने बताएपनि उच्चस्तरीय भेटघाट राजनीतिक मुद्दामै केन्द्रित रहेको बताइएको छ ।