भूकम्पले भत्काएका विद्यालय अझै बनेनन्

title
शुक्रबार, जेष्ठ १०, २०७६

रामहरि न्यौपाने

नुवाकोट । विनासकारी भूकम्पले क्षति पुर्‍याएका विद्यालयको पुर्ननिर्माण तीनवर्ष भित्रै सम्पन्न गर्ने सरकारको लक्ष्य चारवर्ष हुदाँ पनि अझै पूरा हुन सकेको छैन । क्षतिग्रस्त भवनको पुर्ननिर्माणमा दातृ निकायसंगको साझेदारीमा सरकारले धमाधम काम भइरहेको जनाएपनि नुवाकोटका अझै तीन दर्जन विद्यालयको पुर्ननिर्माणको पर्खाइमा छन् । भवन निर्माण नहुदाँ विद्यार्थीहरु टहराको कष्टपूर्र्ण बसाईमा अध्ययन गर्न बाध्य छन् ।

चार वर्षअघि गएको विनासकारी भूकम्पले विद्यालय भवनमा क्षतिपुर्‍याएपछि सरकारले तीन वर्षभित्र विद्यालय पुनर्निर्माण सक्ने लक्ष्य लिएको थियो । पुर्ननिर्माणका लागि विभिन्न सामाजिक संस्था, विभिन्न देशका दुतावाससहितलाई निर्माणको जिम्मा पनि दिइएको थियो ।

तर, नुवाकोटमा भने भूकम्पको चार वर्ष पुरा हुँदासमेत अझै तीन दर्जन विद्यालय पुर्ननिर्माणको पर्खाइमा छन् । जिल्लाका २६ विद्यालयले जग्गा अभाव र एक–अर्कामा गाभिने प्रक्रियाले पुर्ननिर्माण सुरु गर्न सकेका छैनन् भने दश विद्यालयको पुर्ननिर्माण गर्ने जिम्मेवारी लिएको भारत सरकारले काम शुरु नगरेका कारण विद्यार्थीहरु टहरमै बसेर पढ्न बाध्य छन्।

समयमै भवन निर्माण नहुदाँ जस्तापाताको टहरामा एउटै कक्षालाई बीचमा बारेर पढ्नुपर्ने बाध्यता रहेको गणेश मावि हल्देकालिकाकी विद्यार्थी सुशीला नेपालले बताइन ।

विद्यालयमा डेस्कबेञ्च, खेलमैदान, खानेपानी, पुस्तकालय, प्रयोगशाला, शौचालय लगायतको अभाव हुँदा पढाईमा असर पुगेको सोही विद्यालयकी शलिना रिजालले गुनासो गरिन् ।

विद्यालय व्यवस्थापन समितिले पनि भवन निर्माणका लागि पहल गरिरहेको छ । गणेश माविकै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरसिंह गिरीले विद्यार्थीको सिकाईको पाठशालामा भवनसमेत नहुँदा बढाइका लागि उचित वातावरण नबनेको बताए । विद्यालय भवन पुनर्निर्माण गर्न नसक्दा आफूहरु चिन्तित भएको उनको भनाई छ ।

शिक्षकका समस्या पनि उस्तै छन् । विद्यालय भवनकै कारण विद्यार्थीलाई भनेजस्तो शिक्षा दिन नसकिएको ऐसेलुभुमे माविका शिक्षक गोबिन्द ढुंगानाले बताए ।

चाहेरै पनि उचितरुपमा शिक्षा दिन नसक्दा क्षमतावान बनाउन चुनौति थपिएको विद्यालय परिवारको गुनासो छ । त्यही कारण अन्य विद्यालयसँग प्रतिस्पर्धा गर्नुपवर्ने विद्यालयहरु अहिले आफै चिन्तामा छन् । विनासकारी भूकम्पले नुवाकोटका चारसय ५३ वटै सामुदायिक विद्यालयका अधिकांश कक्षाकोठामा क्षति पुर्‍याएको थियो । सरकारले दातृ संस्थासँगको साझेदारीमा पुर्ननिर्माणमा क्रियाशिलता देखाएपनि अहिलेसम्म ३०१ विद्यालयमा मात्र सुविधा सम्पन्न भवन निर्माण सम्भव भएको छ । एकसय १३ वटा विद्यालय निर्माणाधीन भएकाले त्याहाँका विद्यार्थी टहरामै पढिरहेका छन् ।

यो सँगै जग्गा अभाव लगायतका समस्यामा गुज्रिएका जिल्लाका २६ विद्यालय र भारतीय दूतावासले जिम्मेवारी लिएका थप दश विद्यालयको पुर्ननिर्माण भने अझै अन्योल अबस्थामै छ।

विनासकारी भूकम्पले धेरै क्षति पुर्‍याएको नुवाकोटका बासिन्दा भूकम्पको त्रासदीबाट चाडो बाहिर निस्कनचाहन्छन् । तर, भूकम्पले क्षतिपुर्‍याएका विद्यालयभवन नबन्दा छोराछोरीले टहरामा बसेर पढ्नुपर्दा त्यही त्रासदीस्ले सताउन छाडेको छैन । विद्यार्थीहरुको गुणस्तरीय शिक्षा लिने अधिकारसमेत यसैको छायामा परिरहेको छ ।